रामचन्द्र पौडेलले राष्ट्रपति पद र ज्यान जोगाउनको लागि कायरता प्रदर्शन गरेको सूर्य थापाको आरोप (भिडिओसहित)


काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद सूर्य थापाले सुशीला कार्कीलाई प्रधानमन्त्री बालेन शाह र सुदन गुरुङले बनाएको दाबी गरेका छन् । उनले भने,‘प्रधानमन्त्री कुन जेनजी हो, बुढीमाउ, प्रधानमन्त्री त एउटा लुशीफर र छुँ छुँ गर्नेले बनाएको हो, तिनीहरुले बनाएको हो, कुनै जनताले बनाएको हो र ? कुनै लुशीफरले प्रधानमन्त्री बनाउने कानून छ र देशमा ?’

तर, राष्ट्रपति रामचन्द्र पौडेलले कायर र हुतिहारा भएकै कारण सुशीलालाई प्रधानमन्त्री बनाएको उनको आरोप छ । हिजो (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘मैले यो कुरा आज भनेको होईन, भदो २७ गते नै पब्लिक्ली भनेको थिएँ, उहाँ आत्मसुरक्षावादी कायरता प्रदर्शन गरेर संविधानविपरितको आत्मसमर्पणमा जानुभयो, जीवनभर लोकतन्त्रको लागि संघर्ष गरेको एउटा धरोहर भन्ने मान्छे त्यो ज्यान जोगाउनको लागि त्यो कायरता प्रदर्शन गर्नुभयो । राष्ट्रपति त चिल्लीमा साल्भाडोर एलेण्डेपनि थिए त, आफ्नो कजको निम्ति राष्ट्रपति भवनमै बम्बार्डमा मारिएका थिए, ती महान एलेण्डे थिए, विचरा रामचन्द्र पौडेल संविधानको मलामी बनेर राष्ट्रपतिको एउटा पद जोगाउन र ज्यान जोगाउनको निम्ति सम्झौता गरे ।’

थापाले सुशीला कार्कीलाई केपी ओलीले प्रधानमन्त्री नबनाएको भन्दै यो झुटो कुरा भएको टिप्पणी गरे । उनले हामी नेपालका संयोजक सुदन गुरूङलाई अब जनताले कारबाही गर्ने चेतावनी दिए । उनले भने,‘सुदन गुरुङजस्ता लठैतलाई अब जनताले समाउँछन्, जनताले कारबाही गर्छन् । त्यो धेरै ठिस कुरा गर्दै हिँड्यो भने अब जनताको कारबाहीमा पर्छ ।’