निर्वाचनका लागि नेपाली कांग्रेसले गरायो दल दर्ता


काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसले माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छ । निर्वाचन आयोग पुगेर आज कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दल दर्ता गराएका हुन् ।

हिजोमात्रै पार्टीको केन्द्रीय समितिको बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट आज निर्वाचन प्रयोजनको लागि दल दर्ता भएको हो । एमालेले भने अहिलेसम्म प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छैन । तर, उसले राष्ट्रियसभाको निर्वाचनको लागि भने दल दर्ता गराईसकेको छ ।

एमालेले संसद् विघटन असंवैधानिक भन्दै पूनःस्थापनाको लागि हस्ताक्षरसमेत संकलन गरेको छ । प्रतिनिधिसभा पूनःस्थापनाको माग लिएर न्यायिक प्रक्रियामा जान भनेर महेश बर्तौला र सुनिता बराललाई जिम्मासमेत दिएको छ । अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि हालतमा प्रतिनिधिसभा पूनःस्थापना हुने दाबी गर्दै आएका छन् ।

तर, एमाले नेतृत्वले निर्वाचनबाट पार्टी नभाग्नेसमेत भनेका छन् । निर्वाचनको वातावरण बनाए आफूहरु निर्वाचनमा जान जहिल्यैपनि तयार नै रहेको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् । file photo