काठमाडौं, ७ मंसिर । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले देशको बृहत्तर हित, मितव्ययिता र शान्ति चाहना हो भने सबभन्दा राम्रो विकल्प भनेको नै संसद् पूनःस्थापना भएको बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. केसीले यस्तो बताएका हुन् ।
उनले भने,‘अहिले सबभन्दा राम्रो विकल्प भनेको त संसद् पूनःस्थापना नै हो । किनभने फेरि चुनावमा जानुपर्यो, त्यहाँ अथाह खर्च हुन्छ । चुनावी हिंसाहरु हुन्छन् । मानवीय क्षति हुन्छ । हामीले सिमराको घटना देखेका छौं । अहिले हामी यहाँ बोल्दै गर्दा महेश बस्नेतमाथि विराटनगरमा आक्रमण भएको छ । सबैभन्दा देशको लागि, राष्ट्रियताको लागि र शान्तिको लागि पनि सबभन्दा राम्रो संसद् पूनःस्थापना नै हो । तर, जेनजी विद्रोह संसद्को विरुद्धमा भएकोले त्यस्तो कुरा कल्पना पनि गर्न सकिँदैन् । कार्यपालिका जलेको छ । न्यायपालिका जलेको छ । संसद् जलेको छ ।’
डा. केसीले अहिले नेपालको स्थिति इतिहासमै सबभन्दा गम्भीर रहेको बताए । उनले भने,‘नेपाल राष्ट्रको इतिहास र जीवन योभन्दा कमजोर यसअघि कहिल्यै पनि देखेको थिइनँ । अहिले प्रहरीले हतियार बिसाएको स्थिति छ, सेना के गर्ने वा कसो गर्ने भनेर अन्यौलमा छ । सर्वोच्च अदालत सडकमा आएर न्याय सम्पादन गर्न खोज्छ ।’




प्रतिक्रिया