माओवादीले १७ वर्ष सत्ता चलाएको स्मरण गर्दै जनार्दनको टिप्पणी: दलहरू नातावाद, कृपावाद र भ्रष्टाचारमा लिप्त भए


काठमाडौं, ७ मंसिर । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणासभालाई सम्बोधन गर्दै जनार्दन शर्माले आफूहरुले रुपान्तरणको लागि नयाँ दल खोलेको बताए । जेनजी विद्रोहपछि पनि पूराना दल रुपान्तरण हुने लक्षण नदेखिएपछि नयाँ पार्टी गठन गर्नुपरेको उनको भनाइ छ । राष्ट्रियसभामा आयोजित पार्टी एकता घोषणासभामा लिखित भाषणा गरेका शर्माले जनयुद्ध लडेको माओवादीले पनि क्रान्तिकारी छवि बचाउन नसकेको आरोप लगाए ।

उनले कांग्रेस, एमाले र माओवादीले क्रमशः ४५, ३५ र १७ वर्ष सत्ता चलाएको स्मरण गराउँदै ती दलहरु नातावाद, कृपावाद र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले भने,‘पार्टीभित्रका मठाधीशलाई धूपबत्ती गर्न छोडेर हामीले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छौँ । जनयुद्ध गरेको माओवादीले पनि क्रान्तिकारी छवि बचाउन सकेन, कांग्रेसले ३६ वर्ष, एमालेले ३५ वर्ष, माओवादीले करिब १७ वर्ष सत्ता चलाए । दलहरू नातावाद, कृपावाद र भ्रष्टाचारमा लिप्त भए । ठुला भनिएका दलका नेता र कार्यकर्तालाई दुनियाँ कहाँ पुग्यो पत्तै भएन । दलहरूको प्रष्टीकरणको विरुद्ध हामीले नयाँ पार्टी खोलेका हौँ ।’