कांग्रेस नियमित महाधिवेशनमा गएर वडादेखि केन्द्रसम्म नयाँ नेतृत्व स्थापित गर्नुपर्छः रामहरि खतिवडा (भिडिओसहित)


काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले विशेष महाधिवेशन भन्दा पनि नियमित महाधिवेशनमा पार्टी जानुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले समयमै नियमित महाधिवेशन हुने बताएका हुन् । उनले गाउँदेखि केन्द्रसँग नयाँ नेतृत्वको आवश्यकता रहेको बताए ।

‘मलाई लाग्छ, विशेष महाधिवेशन भन्दा पनि नियमित महाधिवेशनमा कांग्रेस जानुपर्छ । वडादेखि केन्द्रसम्म नयाँ नेतृत्व स्थापित गर्नुपर्छ । गाउँदेखि जनतामा ऊर्जा पैदा गर्नका लागि नियमित महाधिवेशन नै आवश्यक पर्छ भन्ने मेरो व्यक्तिगत धारणा छ,’– उनले भने ।

आफूहरु पार्टीको नियमित महाधिवेशन सुरुवात गरौं भन्ने पक्षमा नै रहेको बताए । साथै, उनले चुनाव गराउन बनेको सरकार अन्य मुद्दामा केन्द्रीत हुन थालेको बताए । राजदूत फिर्ता गर्ने, राजनीतिक नियुक्तिहरु गर्ने, संविधानविपरीतका अध्यादेशहरु ल्याउनेजस्ता गतिविधि सरकारको तर्फबाट भइरहेको उनले बताए । संविधानमै संसदीय सुनुवाइ भनेर उल्लेख भएको कुरा अध्यादेश ल्याएर हटाउन नसकिने उनले बताए । नेता खतिवडाले सरकार चुनाव गराउने भन्दा पनि बिथोल्ने कामतिर केन्द्रीत भएको देखिएको बताए । राज्यसत्तामा धेरै बुझेका मान्छेहरु नपुगेको उनको भनाइ छ ।

‘अहिलेको अवस्था हेर्दा सरकार चुनाव गराउन होइन, राजनीतिक नियुक्ति गर्न, आफ्ना आसेपासे भर्ना गर्न, सत्ताको रसास्वादन गर्नमात्रै निर्माण भएजस्तो लागेर हामीलाई चुनावको वातावरण तयार गर्न सकिएन भन्ने लागेको हो । चुनावबाट कांग्रेस पछि हट्दैन । तर, हामीलाई विश्वास छ– सर्वोच्च अदालतमा संसद्को मुद्दा विचाराधीन छ । सर्वोच्च अदालतले संविधानअनुसार यसको व्याख्या गर्छ भन्ने पनि हाम्रो विश्वास छ,’– उनले भने ।

नेता खतिवडाले आफ्नो व्यक्तिगत धारणा भनेको १० दिन भए पनि संसद् पुनर्स्थापित गराउने, जेन–जीहरुको सहभागितामा सर्वदलीय सरकार बनाउने रहेको बताए । त्यही संसद्ले संविधान संशोधनको काम गर्ने र त्यसपछि मात्रै चुनावमा जान सकिए देशलाई फाइदा हुने उनले बताए ।