जनयुद्ध असफल भएको होइन, असफल पारिएको होः पूर्व जनमुक्ति सेना


काठमाडौं, ८ मंसिर । तत्कालीन नेकपा (माओवादी) को सैन्य संगठन पूर्व जनमुक्ति सेनाले जनयुद्ध असफल नभएर असफल पारिएको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा जनमुक्ति सेना स्थापनाको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्व जनमुक्ति सेनाहरुले यस्तो बताएका हुन् । तत्कालीन विद्रोही माओवादीले २०५८ साल मंसिर ८ गते औपचारिक रुपमा जनमुक्ति सेना स्थापनाको घोषणा गरेको थियो ।

‘हामीले लडेको जनयुद्ध असफल भएको होइन, असफल पारिएको हो । त्यसैले नेताहरूलाई होइन, आफ्नै बलिदानलाई सम्मान गर्ने, कुर्सीलाई होइन, जनताको पेट र भविष्यलाई प्राथमिकता दिने, दलित, आदिवासी जनजाति, किसान, मजदुर, र युवाको आवाजलाई केन्द्रमा ल्याउन लागिपरौं,’ विज्ञप्तिमा भनिएको छ ।

पूर्व लडाकुहरुले रगत, पसिना, आँसु र बलिदानले नयाँ नेपालको सपना देखेको भए पनि त्यो पूरा हुन नसकेको उल्लेख छ । २०६३ सालपछि क्रान्तिका नेतृत्वहरु ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नारासहित सहर पसेको र पूर्व लडाकुहरुको ढाडलाई भर्याङ बनाउँदै सत्ताको चास्नीमा डुबेको पूर्व जनमुक्ति सेनाहरुको असन्तुष्टि रहेको छ । नेताहरु सिंहदरबार छिरेसंगै आफूहरुको तुहाउने काम भएको र ज्यानै दिएर लड्ने जनमुक्ति सेनाका लडाकुहरू आज धेरैजसो गरिबी, बेरोजगार, दुःखी हुनुपरेको विज्ञप्तिमा उल्लेख छ ।

अहिले क्रान्तिका नायक ‘प्रचण्ड’ पुष्पकमल दाहाल बनेको, पटक पटक प्रधानमन्त्री भए र शक्तिको केन्द्रमा भए पनि दलदलमा फसेको उनीहरुले उल्लेख गरेका छन् । त्यस्तै, जनयुद्धका अर्का व्यक्ति बाबुराम भट्टराई क्रान्तिको बाटोबाट हटेर उदारवादको प्रवक्ता हुदै क्रान्तिका पिडाहरु नसुन्ने बहिरा भएको पूर्व जनमुक्ति सेनाहरुको ठहर छ ।