विकास आयुक्त ढकालको इगोका कारण प्राधिकरणका कर्मचारीले ५ महिनादेखि पाएनन् तलब


काठमाडौं, ८ मंसिर । काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले सवारी चालकलाई ५ महिनादेखि तलबबाट बञ्चित गराएको पाइएको छ । करिब ३ वर्षदेखि प्राधिकरणको हलुका सवारी चालक पदमा कार्यरत मोहन कृष्ण महर्जनले गत साउन महिनादेखि तलब पाएका छैनन् ।

पीडित महर्जनका अनुसार उनले प्राधिकरणका तत्कालीन जिल्ला आयुक्त सुवास बस्नेतको काम गरेकै कारण तलबबाट बञ्चित गरिएको हो । करारमा कार्यरत महर्जनलाई साउनदेखि यता नयाँ नियुक्ति पनि नदिइ काममा लगाइएको छ । उनी आफू नियमित कार्यलय पुगेर हाजिर गर्ने गरेको र काम गरिरहेको बताउँछन् । तर, आफूलाई नियुक्ति र पारिश्रमिकबाट बञ्चित गरिएको पीडित महर्जनको गुनासो रहेको छ ।

‘जानुका मेडमसँग तलब आएन भनेर गुनासो गरेको । जो–जो को काम गरेको हो, उनीहरुसँगै तलब माग्नु भन्नुभयो । मलाई मेरो श्रमको मूल्य पाउने हकबाट बञ्चित गरिएको । मलाई कार्यालय नआउनु पनि भनिएको छैन । नियमित आएर हाजिर गरिराखेको छु । काममा खटिएको छु । तर, गत साउनदेखि ५ महिना र दसैं बोनस रोकिएको छ,’– रिपोर्टर्स नेपालसँग उनले भने ।

पीडित महर्जनका अनुसार विकास आयुक्त ढकाल र तत्कालीन जिल्ला आयुक्त बस्नेतबीच टकराब रहेको छ । आफूलाई तत्कालीन विकास आयुक्त बस्नेतको गाडी चलाउने काममा खटाइएको र उनीहरुकै काम गरेको भनेर तलबबाट बञ्चित गरिएको पीडित महर्जनले बताए ।