काठमाडौं, ८ मंसिर । सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ। आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो। अर्याल २९औं मुख्यसचिव बनेका हुन् । प्रशासन सेवा तथ्याङ्क समूहका अर्याललाई सरकारले २९औं मुख्यसचिवको रूपमा प्रस्तुत गरेको हो।
उनी खुला प्रतिस्पर्धाबाट शाखा अधिकृत, आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव र खुला प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। सुमन २०५३ सालमा अधिकृत, २०६६ सालमा उपसचिव, २०६८ सालमा सहसचिव र २०७७ साल माघमा सचिव भएका हुन्।
२०७७ माघ १९ गते नेपाल प्रशासन सेवाको सचिव भएपछि कोशी प्रदेशको प्रमुख सचिव भएका अर्याल त्यसपछि महालेखा नियन्त्रक भएर काठमाडौं आएका थिए। उनी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयको सचिव हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा पुगेका थिए। त्यसपछि राष्ट्रिय योजना आयोग हुँदै उनी रक्षा मन्त्रालय पुगेका हुन् अर्याल रक्षाबाट मुख्यसचिव बनेका हुन्।




प्रतिक्रिया