काठमाडौं, ८ मंसिर । टोखा नगरपालिका-९ गोंगबुस्थित होटल ग्रिन प्यालेसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा होटल संचालक नुवाकोट पञ्चकन्या गाउँपालिका-५ घर भएका २४ वर्षीय सन्तोष श्रेष्ठ र काठमाडौं तारकेश्वर नगरपालिका-४ लोलाङ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका घर भएका २४ वर्षीय भीम कुमार तामाङ रहेका छन् ।
प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले होटलको २०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
बिराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४६ ग्राम ६ सय ७० मिलिग्राम सहित सोही महानगरपालिका-१३ बस्ने २७ वर्षीय रोजन राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धरान उपमहानगरपालिका-२० भञ्ज्याङबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोग्राम सहित ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी नगरपालिका-९ बस्ने खडग बहादुर मगराती, २८ वर्षीय प्रशासन राई, २४ वर्षीय भुमिराज विक तथा १८ वर्षीय र १७ वर्षीय २ जना किशोर रहेका छन् । अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरीले को.१ झ २१७८ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक खडग बहादुर समेत ५ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया