महाधिवेशनको उद्घाटन समारोहको जनप्रदर्शन अहिलेसम्मकै ठूलो र ऐतिहासिक हुन्छः महासचिव पोखरेल


काठमाडौँ, ८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने बताएका छन् ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन प्रचार समितिको भेलालाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको नीति तथा कार्यक्रम विधान महाधिवेशनले गरेकाले मङ्सिर २७ गतेबाट हुने राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने बताए ।

‘महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्व निर्माणसम्मका सबै प्रक्रिया लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित रहेर हुने छन्,’– उनले भने ।

महासचिव पोखरेलका अनुसार पार्टीको भावी कार्यदिशा, संरचना र विधानसम्बन्धी महत्वपूर्ण निर्णयहरू महाधिवेशनमै अन्तिम रूप पाइसकेका छन् । उनले पार्टीको ११औँ महाधिवेशनले प्रतिगमनको विरुद्ध निर्णायक भूमिका खेल्ने बताए । ‘यो महाधिवेशन प्रतिगमनविरुद्धको निर्णायक राजनीतिक प्रक्रिया हुनेछ,’– उनले भने ।

महासचिव पोखरेलले महाधिवेशनको उद्घाटन समारोहमा हुने जनप्रदर्शन अहिलेसम्मकै सबैभन्दा ठूलो ऐतिहासिक प्रदर्शन हुने दाबी गरे । त्यसका लागि तलसम्म लाग्न पोखरेलले आग्रह गरे ।