चिलिमे तातोपानीमा पुनः स्नान गर्नेको घुइँचो


काठमाडौं, मंसिर ९ । रसुवास्थित चिलिमे तातोपानीमा पछिल्लो समय स्नान गर्ने भक्तजनको सङ्ख्या पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।

विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका–५ स्थित तातोपानी कुण्डलाई असर पारेको थियो । कुण्डमा पुनः तातोपानी निस्केपछि स्नान गर्ने भक्तजनको सङ्ख्या वृद्धि हुनथालेको हो ।

तातोपानी नुहाउनका लागि दैनिक रूपमा सरदर १०–१५ जना आउने स्थानीयवासी सिङ्गी तामाङले जानकारी दिइन्। उनका अनुसार तातोपानी धारामा स्नान गरेपछि शरीरका रोग निको हुन्छ ।

करिब दुई दशक अगाडि ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रमले सो स्थानमा ढुङ्गेधारा तथा पोखरी निर्माणमा सहयोग गरेको थियो ।

नुवाकोट मेघाङ गाउँपालिका–२ बुङ्ताङ निवासी ६४ वर्षीया लालीमाया तामाङका अनुसार तातोपानी नुहाउँदा आफ्नो शरीरका विविध रोग निको भएको दाबीसमेत गइन् ।

विदुर नगरपालिका बट्टार निवासी रामप्रसाद पौडेल र देवकी पौडेलसमेतले शारीरिक रोग निधानका लागि तातोपानी अत्यन्तै उपयोगी भएको बताइन् । अन्यत्र जिल्लाबाट समेत सो स्थानमा स्नान गर्न भक्तजन आकर्षित भइराखेका छन् ।