कांग्रेसको सर्वोपरी प्राथमिकता निर्वाचन हो, महाधिवेशन वैशाखमा हुन्छः विमलेन्द्र निधि (भिडिओसहित)


काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभाको निर्वाचन राष्ट्रिय एजेण्डा र प्राथमिकता रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले निर्वाचनलाई सबैभन्दा बढी प्राथमिकता दिनुपर्छ भन्ने कांग्रेसको भनाइ रहेको बताए । कांग्रेसको लागि अहिले पार्टीको महाधिवेशनभन्दा पनि निर्वाचन प्राथमिकतामा रहेको उनले बताए ।

‘निर्वाचनको काममा लाग्ने कि पार्टीको महाधिवशेनको काममा लाग्ने ? एकचोटी दुईवटै काम सम्भव छैन । त्यसकारणले निर्वाचनलाई प्राथमिकता दिनुपर्छ । निर्वाचनमा नै कांग्रेस होमिनुपर्छ भन्ने हाम्रो भनाइ हो,’– उनले भने ।

नेपालमा निर्वाचनको वातावरण बनाउन पनि कांग्रेसले सक्रिय भूमिका निर्वाह गर्ने उनले बताए । निर्वाचनको वातावरण निर्माणमा राजनीतिक दलको पनि सक्रिय भूमिका हुने उनले बताए । कांग्रेसले अहिले सबै कामलाई थाँती राखेर निर्वाचनलाई नै सर्वोपरी प्राथमिकता दिनुपर्ने बताए ।

फागुनमा निर्वाचन सम्पन्न हुन्छ भनेदेखि चैत र वैशाखको हामीसँग समय छदै छ । हामीले के प्रस्ताव गरेका छौं भनेदेखि– वैशाखमा नेपाली कांग्रेसको १५औं महाधिवेशन गर्ने । अहिले नेतृत्व परिवर्तनको समस्या कांग्रेसमा छैन । पार्टी सभापति शेरबहादुर देउवाजीले पहिला नै भनिसक्नुभएको थियो, १५औं महाधिवशेनमा तेस्रो पटक पार्टी सभापति म बन्दिनँ,’– नेता निधिले भने ।