काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता कल्याण गुरुङले विशेष महाधिवेशनले पार्टी सभापति वा पदाधिकारी वा सदस्यहरुलाई हटाउने व्यवस्था विधानको धारा १७ को २ मा कहीँकतै नलेखिएको स्पष्ट पारेका छन् । पार्टीभित्र चुनावअघि नै महाधिवेशन वा चुनावपछि महाधिवेशन भन्ने विवाद चुलिएको बेलामा नेता गुरुङको यस्तो प्रतिक्रिया आएको हो ।
उनले विधानको धारा २६ अनुसार केन्द्रीय सभापतिले राजीनामा दिएर राजीनामा स्विकृत भएको अवस्थामा कार्यवाहक सभापतिले ६ महिना भित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ भनेर लेखिएको पनि स्मरण गराएका छन् ।
उनले फेशबुकमा लेखेका छन्–
साथीहरुले फोन गरेर सोध्नु हुन्छ – के विशेष महाधिवेशन मंसिरमा हुन्छ ?
मैले भने – बाहिर हल्ला चलेको जस्तो केही पनि छैन ।
एक, केन्द्रीय कार्य समितिको बैठकमा आज सम्म पनि विशेष महाधिवेशनको र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिकरुपमा आएको छैन ।
दुई, पार्टीको विधानको धारा १७(२) मा लेखिएको भए पनि यसको नियमावली र कार्यविधि बनि सकेको छैन । तीन, हस्ताक्षरहरुको सनाखत र प्रमाणीकरण भई सकेको छैन ।
चार, विशेष महाधिवेशनले पार्टी सभापति वा पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था विधानको धारा १७(२) मा कहिकतै लेखिएको छैन ।
पांच, विधानको धारा १७(२) अनुसारको विशेष महाधिवेशनले पार्टी सभापतिलाई हटाउने व्यवस्था विधान र नियमावलीमा उल्लेख भएको नै छैन ।
विधानको धारा २६ अनुसार केन्द्रीय सभापतिले राजीनामा दिई वहांको राजीनामा स्विकृत भई सकेको अवस्थामा कार्यवाहक सभापतिले ६ महिना भित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ ।
विधानको धारा ४४ अनुसारको अविश्वासको प्रस्ताव पास गरेर मात्र पार्टी सभापति र पदाधिकारीलाई हटाउन सकिन्छ ।
वहांहरुले फेरि सोध्नु भयो – अब के हुन्छ ?
मैले फेरि भने – विधानमा व्यवस्था भएको मापदण्ड अनुसार हस्ताक्षरहरुको सनाखत र प्रमाणीकरण पनि भई सकेको छैन । यसको लागि आवश्यक नियमावली र कार्यविधि पनि बनिसकेको छैन । पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा छलफलको लागि औपचारिक प्रस्तावको रुपमा पनि आएको छैन । यस सम्बन्धमा पार्टीको केन्द्रीय कार्य समितिले कुनै निर्णय पनि गरिसकेको छैन ।
साथसाथै, पार्टीले २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरि सकेको छ ।
पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने सम्पुर्ण तयारीको काम सम्पन्न गर्नु पर्नेछ ।
पार्टी एकता कायम राख्नु छ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ ।
यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने संभावना कम देखिन्छ ।
यसर्थ, ढुक्क हुनु होस्, वर्तमान सभापतिज्यू कै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ ।
पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु र पार्टी एकता कायम राख्नुको लागि पार्टीको विशेष महाधिवेशन एक हुंदैन, दुई हुंदैन र तीन हुंदैन ।
कुरो सुस्पष्ट छ ।
आफै विचार गर्नु होला ।
भ्रममा नपर्नु होला ।
किमधिकम् ।
जय नेपाल !




प्रतिक्रिया