काठमाडौं, ९ मंसिर । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी परित्याग गरेका नेताहरु आगामी मंसिर ११ गते नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । जसपाका तत्कालीन संघीय परिषद् अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बु, उपाध्यक्ष परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद्का अध्यक्ष डा.पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजुले पार्टी परित्याग गरेका थिए ।
उनीहरु आगामी मंसिर ११ गते नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेको सो पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराए । ‘पर्सी ११ गतेकै दिन पनि जसपाको एउटा एकता अभियान समूह पार्टी एकतामा आउँदैछ । त्यो दिन अरु एक÷दुई वटा पार्टी पनि आउन् । देशमा क्रमशः धेरै पार्टी एकतावद्ध भएर नयाँ शक्ति सिर्जना हुनेछ,’– पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रचण्डले भने ।
जसपा छाडेका नेताहरुले पनि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्ने घोषणा गरिसकेका छन् । जेनजी आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुसमेत खतरामा पर्नसक्ने निश्कर्ष निकाल्दै विचारमा सामिप्यता रहेको अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग मिलेर प्राप्त उपलब्धिहरुसमेत रक्षा र थप उपलब्धि प्राप्तिको लागि नेकपासँग एकता गर्न लागिएको उनीहरुले बताउँदै आएका छन् ।




प्रतिक्रिया