काठमाडौं, १० मंसिर । नेकपा (एमाले) का नेता कर्णबहादुर थापाले पार्टीको ११औं महाधिवेशनमा नेतृत्वको लागि प्रतिस्पर्धा हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई कार्यकाल एमालेको नेतृत्व गरिसकेकाले अब नयाँ नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने बताएका हुन् । पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षको लागि उम्मेदवारी घोषणा गरिसकेको बताउँदै उनले अब मूल्याङ्कन गर्ने काम कार्यकर्ताको रहेको बताए । कार्यकर्ताको विवेकमा फैसला भर पर्ने बताउँदै उनले कुनै पनि प्रकारको आलोचना र विरोध आवश्यक नरहेको बताए ।
‘केपी शर्मा अोलीलाई हामीले तपाईँले दुई कार्यकाल गरिसक्नुभयो, अब चाहिँ तपाईँले विदा लिँदा राम्रो हुन्छ भनेका छौं । महाधिवेशन आउँदैछ, प्रतिस्पर्धा हुन्छ । हामी प्रतिस्पर्धाबाट अगाडि बढेको हो,’– उनले भने ।
उनले पार्टीभित्रको अभ्यासमा भयरहित वातावरण हुनुपर्ने र स्वच्छ प्रतिस्पर्धा गरेर अगाडि बढ्ने बताए । नेता थापाले एमालेको अध्यक्षदेखि केन्द्रीय कमिटीमा स्वच्छ प्रतिस्पर्धा हुने र त्यसमा कसैले पनि बन्देज लगाउन नमिल्ने बताए । एमालेको अधिवेशन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने उनले बताए ।
साथै, उनले अध्यक्षको उम्मेदवारी दिएका ईश्वर पोखरेललाई पूर्व राष्ट्रपति विद्या भण्डारीको समर्थन रहेको बताए । भण्डारीलाई राजनीतिमा आउन प्रतिबन्ध लगाउनु दुःखद् रहेको उनले बताए । आफूहरुले पार्टीको ११औं महाधिवेशनमा भण्डारीलाई सहभागी गराउनुपर्छ भनेर निरन्तर भन्दै आएको उनले बताए । भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन सकिँदैन भन्ने निर्णय बलजफ्तीपूर्ण ढंगले गरिएको उनको भनाइ छ । त्यो निर्णय विवेकपूर्ण, विधिपूर्ण, न्यायिक र राजनीतिक नभएको उनले बताए ।
आफ्नो हैसियतअनुसार महाधिवेशनमा भण्डारीले सक्रिय भूमिका खेल्न पाउनुपर्ने उनले बताए । नेता थापाले भण्डारीले प्रतिस्पर्धामा आउन चाहेको खण्डमा प्रतिस्पर्धाको ढोका पनि खुला राख्नुपर्ने बताए । पार्टीभित्र भण्डारीको पक्षमा ठूला मत रहँदा रहँदै पनि अध्यक्ष ओलीले त्यसलाई स्वीकार गर्न नसकेको उनको भनाइ छ ।




प्रतिक्रिया