काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद सुनिल शर्माले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सहकारी ठगी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन् । आज (बुधबार) लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका शर्माले सञ्चारकर्मीहरुसँग संवाद गर्दै सहकारी पीडितहरुको पैसा फिर्ताको सुनिश्चितता गर्दैै सरकारले लामिछानेको मुद्दालाई फिर्ता लिनुपर्ने बताएका हुन् ।
‘रवि लामिछानेलाई थुनेपछि कसैको एक रुपैयाँ पैसा फिर्ता भएको थाहा छ ? भनेपछि सोलुसन यो रहेछ त ? सोलुसन त यो होइन रहेछ । अहिलेको सरकारलाई म के आग्रह गर्न चाहन्छु भने सहकारी पीडितहरुको पैसा फिर्ताको सुनिश्चितता गर्दैै सरकारले रवि लामिछानेको मुद्दालाई फिर्ता लिनुपर्छ,’– उनले भने ।
सहकारी ठगीका सन्दर्भमा छानविन गर्न बनेको संसदीय समितले राजनीतिक फण्डाको आधारमा लामिछानेलाई फसाएको उनको आरोप छ । उनले अहिलेसम्म आफ्नो सूचनामा भएसम्म विभिन्न काण्डमा १५ वटा समिति बनेर प्रतिवेदन प्राप्त भएकोमा सहकारी ठगीको विषयलाई मात्रै मन्त्रिपरिषद्मा लगेर कार्यान्वयन गरेको बताए ।
‘यो पोलिटिकल फण्डा हो भन्ने कुरा पहिला तपाईँहरु क्लियर हुनुपर्यो । नेपालमा १५ वटा संसदीय छानविन समितिहरु बनिसकेका छन् । तर, एउटामात्रै समितिको रिपोर्ट क्याविनेटमा लगियो,’– उनले भने ।
अघिल्लो सरकारले प्रतिशोध साँधेर लामिछानेमाथि मुद्दा लगाइएको उनको आरोप छ । राज्यसत्ताको गलत प्रयोग गरेर आफ्ना विद्रोहीहरुलाई ठेगान लगाउने काम पटक–पटक भएको पनि उनले बताए ।
उनले लामिछानेलाई थुना बाहिर रहेर मुद्दाको पुर्पक्ष गर्ने मौका दिइनुपर्ने बताए । राज्यलाई रवि लामिछाने भाग्छन् भन्ने लागेको खण्डमा ग्यारेन्टीका लागि आफू ल्याप्चे लगाइदिन तयार रहेको बताए ।




प्रतिक्रिया