चुच्चे नक्सा अंकित सय रुपैयाँको नोट आजदेखि प्रचलनमा, नेपाल–भारत सम्बन्धमा कस्तो पर्ला असर?


काठमाडौं, मंसिर ११ । आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट प्रचलनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आजदेखि चुच्चे नक्सा भएको १०० रूपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याउन लागिएको जनाएको छ।

नयाँ नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर डिजाइन परिमार्जन गरिएको छ । वि.सं २०७७ जेठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको चुच्चे नक्सा पारित गरेको थियो । त्यति बेला एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । मन्त्रिपरिषद्बाट निर्णय गर्नुअघि तत्कालीन सरकारले जेठ २ गते सार्वजनिक गरेको आफ्नो वार्षिक नीति तथा कार्यक्रममा भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा जारी गर्ने र कूटनीतिक पहलमार्फत सो भूमि फिर्ता ल्याउने उल्लेख गरेको थियो ।

सरकारले संविधान संशोधन गरेर चुच्चे नक्सा अंकित नोट छाप्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएपछि राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० दरको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई दिएको थियो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि छिमेकी मुलुक भारतको राजनीतिमा ठुलै हलचल ल्याएको थियो । बिचमा सेलाएको चुच्चे नक्साको विवाद अहिले नोटमै नक्सा छापिएपछि पुनः चर्चा आउने र त्यसले राजनीतिक सङ्कट उत्पन्न गराउन सक्ने कूटनीतिक मामिलाका जानकारहरूको आङ्कलन छ । अहिले सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तकमा नयाँ संस्करण बमोजिमको नक्सा प्रयोग हुँदै आएको छ । नक्साले नोटमा स्थान पाएपनि अन्तर्राष्ट्रिय मान्यता भने प्राप्त गर्न सकेको छैन ।

नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा उल्लेख भए पनि नेपालले त्यो भूभाग फिर्ता ल्याउन सकेको छैन । त्यो भूमि अझै भारतकै नियन्त्रणमा छ । नेपालले एकतर्फी रूपमा निर्णय गरेको भारतको आरोप छ ।