पुनर्स्थापित संसद्बाट अब बन्ने वैध सरकारले निर्वाचन गराउँछः एमाले नेता बर्तौला


काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) का नेता महेश बर्तौलाले प्रतिनिधिसभा पुनर्स्थापना भएरै छाड्ने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापित हुने र त्यही पुनर्स्थापित संसद्बाट बन्ने सरकारले नै निर्वाचन गराउने बताएका हुन् ।

‘पुनर्स्थापित संसद्बाट बन्ने वैध सरकारले नै यो निर्वाचन गराउँछ, त्यो निर्वाचन नै वैध हुन्छ । सडकबाट बनेको सरकार, विध्वंश र अराजकतालाई वैधता दिनेगरी बनेको सरकारबाट निर्वाचन गर्दैछ भन्ने कुरा आफैंमा भ्रम हो । यो सरकार निर्वाचन गराउनेतर्फ कुनै तयारी नै छैन,’– उनले भने ।

उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको वैधतामाथि नै प्रश्न रहेको र यसको परीक्षणका लागि यो सर्वोच्च अदालतमा १८ वटा मुद्दा परेको र अब त्यसैबाट छिनोफानो हुने बताए । ‘पहिलो कुरा त यसको वैधानिक हैसियतको बारेमा परीक्षण हुनुपर्ने, उठाइएका बैधानिक प्रश्नका बारेमा त्यसको निरुपण हुनुपर्ने हुन्छ । यो दुई महिनाको बीचमा सरकारको वैधताको बारेमा प्रष्ट ढंगबाट फैसला आउने छ, निर्णय आउने छ । त्यसो भनेको संसद्को पुनर्स्थापना हो,’– उनले भने ।

उनले एमाले जनताकै बीचबाट स्थापित लोकतान्त्रिक पार्टी रहेको र निर्वाचनमा सहभागी हुनका लागि कुनै रिहल्सन गरिरहन नपर्ने बताए । उनले एमालेलाई निर्वाचनमा होमिनका लागि कुनै अप्ठ्यारो नरहेको र जनताको बीचबाट परिक्षित हुने कुरा कहिल्यै अस्वीकार नगर्ने उनले बताए । तथापि फागुन २१ गते निर्वाचन नहुने उनको दाबी छ । सरकारको सुरक्षा संयन्त्र कमजोर रहेको, ३ जना मान्छेले एयरपोर्ट कब्जा गर्ने अवस्था रहेको, पूर्व प्रधानमन्त्रीलाई स्थान हद तोक्नेलगायतका क्रियाकलापले निर्वाचनको वातावरण छैन भन्ने कुरा प्रष्ट हुने बताए ।