काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले आगामी फागुन २१ गतेको चुनाव अगाडि नै पार्टीले महाधिवेशन गर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चुनावपछि पार्टी महाधिवेशन गर्दाखेरी नेपाली जनताको आक्रोश झनै बढेर जाने बताएका हुन् । कांग्रेस अब चाहिँ सुध्रियो है भन्ने सन्देशसहित चुनावमा जानुपर्ने र त्यसका लागि महाधिवेशन अगाडि नै हुनुपर्ने उनले बताए ।
‘चुनाव अगाडि महाधिवेशन हुनुपर्छ । कुनै पनि कष्टमा हुनुपर्छ । सुरुवात वडाबाटै हुनुपर्छ । मलाई लाग्छ– अब पुसका ६÷७ गतेबाट हामी सुरु गर्छौं । तहगत हिसाबले हामी अगाडि बढ्छौं,’– उनले भने ।
कुनै हालतमा पनि नियमित महाधिवेशन पुसभित्र सुरु नहुने अवस्था आयो भने विशेष महाधिवेशन हुने उनले बताए । उनले आफू संस्थापन पक्षकै रहेको र प्रकाशमान सिंहसँग नजिक भएर रहेको पनि बताए । महाधिवेशनको सन्दर्भमा भने प्रकाशमान र आफ्नो फरक मत रहेको उनले बताए ।
गत भदौ २४ गतेको जेन–जी आन्दोलनको क्रममा आफ्नो घर पनि जलेको उनले बताए । उनले कांग्रेस र कांग्रेसका नेता तथा कार्यकर्ताको विरुद्धमा खोजी–खोजी आगजनी र तोडफोडको काम भएको उनको भनाइ छ । उनले राजनीतिक नेतृत्वले राम्रो गर्न नसकेको स्वीकार गरे । राजनीतिक दलको कमीकमजोरीकै कारण देशमा जेन–जी आन्दोलन भएको उनको बुझाइ छ । उनले अहिलेको समस्या भ्रष्टाचार नै रहेको बताए ।




प्रतिक्रिया