नेकपा सबैभन्दा ठूलो पार्टी बन्ने भीम रावलको दाबी, केपी ओली भागेर भक्तपुर पुगेको आरोप


धनगढी, १२ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताले डा. भीम बहादुर रावलले २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो दल पहिलो दल बन्ने दाबी गरेका छन् । आज (शुक्रबार) कैलालीको धनगढीमा सुरु भएको नेकपाको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दे डा. रावलले यस्तो बताएका हुन् ।

सो क्रममा उनले निर्वाचन गराउनेमात्रै अहिलेको सरकारको दायित्व भएकोले त्यहीअनुसार काम गर्न आग्रह गरे । उनले भने,‘नेकपा ताजा जनादेशको लागि तयार छ । निर्वाचनबाट नेकपा सबैभन्दा ठुलो पार्टी बन्ने छ । त्यो निर्वाचन भयरहित बनाउन सरकारले गोली बन्दुकहरू आफ्नो नियन्त्रण लियोस्, यो सरकार निर्वाचनको लागि मात्रै हो । निर्वाचन मात्रै गर्नुपर्छ । अरू सम्धी सम्झौता गर्न पाउँदैन । ’

रावलले अहिले जेनजीको आवाज पनि नेकपाले बोकेको दाबी गरे । तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले समस्या सृजना गरेर भागेर फेरी भक्तपुरमा पुगेर जनतालाई धम्क्याउने काम गरेको आरोप लगाए । ओलीकै कारण एमालेमा ठुलो समस्या पैदा हुँदै गएको उनको टिप्पणी थियो ।