अफगानिस्तानमा सडक दुर्घटनामा तीन जनाको मृत्यु, ५ घाइते


काबुल, १२ मङ्सिर । पूर्वी अफगानिस्तानको लघमान प्रान्तमा सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा एक महिला र एक बालक रहेका प्रान्तीय प्रहरी कार्यालयले बिहीबार राति जनाएको छ ।

घटनाको विवरण अनुसार, काकाख क्षेत्रमा राजधानी काबुललाई पूर्वी प्रान्तसँग जोड्ने मुख्य सडकमा एक यात्रुबाहक सवारी अर्को सवारीसाधनसँग ठोक्किँदा दुर्घटना भएको हो । घटनास्थलमै तीन जनाको मृत्यु भएको र पाँच जना घाइते भएको बताइएको छ ।
प्रहरीले असावधान रूपमा सवारी चलाउनु मुख्य कारण भएको जनाएको छ ।

यो दुर्घटना गत सातामा अफगानिस्तानमा भएको तेस्रो घातक सडक दुर्घटना हो । यसअघि मङ्गलबार उत्तर पश्चिमी फरयाब प्रान्तमा सवारी खस्दा ९ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

रविबार पश्चिमी हेरात प्रान्तमा दुई सवारीसाधनको ठोक्कापछि १० जनाको मृत्यु भएको र १० भन्दा बढी घाइते भएका थिए ।

अफगानिस्तानमा सडक दुर्घटना लगातार बढ्दो समस्या बनेको छ । मुख्य कारण पुराना सडक, असावधान ड्राइभिङ, सवारी साधन ओभरलोड, बढी गति र कठिन भौगोलिक अवस्था हुन् । रासस