काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसभित्र यतिबेला महाधिवेशनको विषयलाई लिएर विवाद चुलिएको छ । संस्थापन पक्ष आगामी फागुन २१ गतेको चुनावपछि नियमित महाधिवेशनको पक्षमा उभिएको छ भने इत्तर पक्ष पुसभित्र महाधिवेशन हुनुपर्ने पक्षमा छ । इत्तर पक्षले महाधिवेशन गर्न नसकिने अवस्थामा पुस २८ गतेभित्र विशेष महाधिवेशन हुनुपर्ने अडान राखेको छ ।
महाविधेशनको बारेमा साझा धारणा बनाउनका लागि कांग्रेसका शीर्ष नेताहरु पटक–पटक छलफलमा जुटे पनि निश्कर्षमा पुग्न सकेका छैनन् । सभापति शेरबहादुर देउवाले पछिल्लो समय सक्रियता बढाएका छन् । उनी पार्टीका उपसभापति, महामन्त्री, पदाधिकारी र पूर्व पदाधिकारीसँग निरन्तर छलफलमा छन्ु । सभापति देउवाले आज पनि कार्यवाहक सभापतिसमेत रहेका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन कुमार थापा, विश्वप्रकाश शर्मा, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलगायतसँग छलफल गरेका छन् ।
आजको बैठकका सभापति देउवाले विशेष महाधिवेशन गर्न नसकिने र नियमित महाधिवेशन आगामी फागुन २१ गते तय भएको निर्वाचनपछि गर्नुपर्ने प्रष्ट धारणा राखेका थिए । देउवाले विशेष महाधिवेशन पक्षधरको पनि माग सम्बोधन हुनेगरी पुसभित्र महाधिवेशनको कार्यतालिका ल्याउने बारे ब्रिफिङ गरेका थिए । तर, महामन्त्रीद्वय थापा र शर्माले आफूहरुलाई कार्यतालिका नभइ महाधिवेशन चाहिएको भन्दै विशेष महाधिवेशनको पक्षमा अड्डी कसेका थिए । विशेष महाधिवेशनका पक्षधर र नियमित महाधिवेशन पक्षधर आफ्नो मागबाट अलिकति पनि तलमाथि नभएपछि आजको बैठक पनि विना निष्कर्ष टुङ्गिएको स्रोतले बतायो ।




प्रतिक्रिया