काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई ‘ग्रेसफूल एक्जिट’ रोज्न सुझाव दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विशेष महाधिवेशनको माहोल बनिसकेको र अब सभापति देउवाले ‘ग्रेसफूल एक्जिट’ रोज्दा नै राम्रो सन्देश जाने बताएका हुन् । सभापति देउवाले सम्मानजनक ढंगबाट विदाइ लिनेतिर कदम चाल्नु बुद्धिमानी हुने उनको भनाइ छ ।
‘यतिबेला विशेष महाधिवेशनमा जाने वा नजाने भन्ने कुरा चाहिँ कहाँ गएर जोडिएको छ भने सभापतिज्यूको सम्मानजनक एक्जिट हुने वा नहुने भन्ने कुरासँग बढी जोडिएको मलाई लाग्छ । त्यसकारण त्यो पद खाली भएर हामीले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व ल्याउन खोजेको होइन । सभापतिज्यूलाई ग्रेसफुल एक्जिट दिने मामिलामा विशेष अधिवेशनले समस्या गर्न सक्छ भन्ने कुरालाई म स्वीकार गर्छु । सभापतिज्यूले नै सम्मानजनक ढंगबाट विदा लिने परिस्थिति निर्माण गर्न उहाँले नै कदम चाल्न जरुरी छ,’– उनले भने ।
नेता पौडेलले कांग्रेस आसन्न फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा जाने र निर्वाचनमा जाँदैगर्दा नेतृत्व बदलेर जानु अपरिहार्य रहेको बताए । उनले निर्वाचनमा नयाँ सभापति लिएर जान खोजेको बताए । निर्वाचनभन्दा अगाडि महाधिवेशनको प्रष्ट खाका आफूले केन्द्रीय समितिमा पेश गरेको र सोही खाका अनुमोदन हुने सम्भावना बढी रहेको बताए ।
विशेष महाधिवेशन कसैको मनगढन्ते कुरा नभएर विधानले व्यवस्था गरेको विषय रहेको उनले बताए । विधानको धारा १७ उपधारा २ मा प्रष्ट ढंगबाट व्यवस्था गरिएको स्थिति रहेको र विधानको व्यवस्था प्रयोग गर्न खोज्दा कसैले पार्टी फुट्छ भन्यो भने त्यो स्वाभाविक नहुने उनको भनाइ छ । अहिले विशेष महाधिवेशनको माहोल बनिरहेको, तर विशेष महाधिवेशनमा जान भने नेतृत्वले नचाहिरहेको अवस्था रहेको उनले बताए ।
‘अहिले विशेष अधिवेशनको माहोल बनेको छ, विशेष महाधिवेशनको परिस्थिति बनेको छ । तर, विशेष अधिवेशनका जानको निम्ति चाहिँ नेतृत्वले चाहिरहेको छैन,’– उनले भने ।




प्रतिक्रिया