कांग्रेस आन्तरिक विवादमा अल्झिएको भन्दै सञ्जय गौतमले सुनाए दिग्दारी, ‘नियमित महाधिवेशन नै ठूलो उपाय’


काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री सञ्जय गौतमले पार्टीको १५औं महाधिवेशनको विवाद अहिलेसम्म हल नभएको देखेर आफूहरु दिक्क भईसकेको टिप्पणी गरेका छन् । पत्रकार ऋषि धमलासँगको नेपाली रेडियो नेटवर्कको लोकप्रिय कार्यक्रम ‘नेपाली बहस’ मा कुरा गर्दै नेता गौतमले पार्टीभित्रको विवादलाई ‘कहीँ नभएको जात्रा, हाँडीगाउँमा’ को संज्ञा दिए ।

उनले पार्टीले अहिले आफूलाई जुन रुपले प्रस्तुत गर्नुपर्ने हो त्यो रुपले प्रस्तुत गर्न नसकेको गुनासो पोखे । उनले भने,‘हामी आन्तरिक विवादमा धेरै नै अल्झियौं, यसले धेरै नै असर पारेको छ ।’ अहिले पार्टीको १५औं महाधिवेशन नियमित गर्नुपर्ने उनको तर्क छ ।

उनले भने,‘नियमित महाधिवेशन नै यसको सबैभन्दा ठूलो उपाय हो । नियमित महाधिवेशनले सबै समस्याको समाधान गर्छ । समय त एकदमै कम छ । डेढ महिनामा नियमित महाधिवेशन टुँगो लगाउन धेरै कठिन छ । तर, सबै गम्भीर भएर लाग्नुपर्छ । चुनावभन्दा पहिले महाधिवेशन गर्दा नियमित गर्दा नै राम्रो हुन्छ । विशेष महाधिवेशनले त पार्टीमा विग्रह लिएर आएँछ, समस्या लिएर आउँछ ।’

उनले अहिले समस्या नेपाली कांग्रेसको विधानमा पनि रहेको सुनाए । नेतृत्व परिवर्तन गर्दैमा सबै समस्याको हल नहुने उनको जोड छ । उनले सभापति शेरबहादुर देउवालाई आरामदायी बहिर्गमनको वातावरण बनाउनुपर्नेमा अहिले विवादको यो परिस्थिति सिर्जना गरेर देउवालाई नै सक्रिय बनाएर दुःख दिईएको भन्दै आलोचना गरे ।