काठमाडौं, १३ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजकिशोर यादवले संघीय लोकतान्त्रिक मोर्चालाई एकतावद्ध गरेर चुनावमा जाने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले मोर्चाबाहेकका अरु दलहरुलाई पनि कसरी जोडेर निर्वाचनमा जान सकिन्छ भनेर वर्कआउट भइरहेको बताए ।
‘संघीय लोकतान्त्रिक मोर्चालाई संगै लाने, अन्य दलहरुको बीचमा पनि कसरी जान सकिन्छ भन्ने विभिन्न कोणहरुबाट छलफल, बहस र प्रयास भइरहेको छ । मोर्चामा त्यस्तो समस्या छ जस्तो मलाई लाग्दैन । ती कुराहरुलाई समाधान गर्दै हामी अगाडि बढ्छौं । मिडियामा आएजस्तो मोर्चामा कुनै समस्या छैन,’– उनले भने ।
यसपटक आफूहरु एक भएर चुनावमा जाने उनले बताए । अहिले मोर्चालाई कसिलो एकतामा परिणत गरेर थप रणनीतिहरुको सन्दर्भमा छलफल गरेर निष्कर्षमा पुगिने उनले बताए । नेता यादवले आफूहरुले मुलुकका समस्यालाई शुत्रवद्ध गरेर प्रधानमन्त्रीको सचिवालयमा गएर ज्ञापनपत्र बुझाइएको बताए । समस्या जहाँ छ, त्यही समाधान खोजिनुपर्ने उनले बताए । समस्यालाई सही ढंगले समाधान गर्ने प्रयास नगरिएको उनको भनाइ छ । उनका अनुसार समस्या संविधान र राज्य सञ्चालनमा रहेको छ ।
जेन–जी आन्दोलनको प्रमुख माग भ्रष्टाचारीहरुलाई कारबाही र सुशासन कायम गरिनुपर्छ भन्ने रहेको उनले बताए । वर्तमान सरकारले काम गर्न नसकेको र केवल जागिर खान आएको जस्तोमात्रै भएको टिप्पणी गरे । केपी ओलीको ठाउँमा सुशीला कार्की प्रधानमन्त्री बन्नुबाहेक नेपाली जनताले कुनै परिवर्तन नपाएको उनको भनाइ छ । जेन–जी आन्दोलनको कारण व्यापारिक घरानाको मनोवल गिरेको, राष्ट्रिय धरोहर जलेको र प्रधानमन्त्रीदेखि मन्त्रीहरु लुक्नुपर्ने स्थिति सिर्जना हुनुको मुख्य कारण नै खोजी नभएको उनले बताए । ‘बेराजगार मान्छेले एकथान रोजगार पाएको भन्दा अरु के भएको छ ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया