काठमाडौं, १३ मंसिर । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आफूलाई प्रहरी हिरासतमै प्रधानमन्त्री सुशीला कार्कीले फोन गरेर वार्ताको लागि आह्वान गरेको खुलासा गरेका छन् । आज (शनिबार) पत्रकार सम्मेलन गरी उनले मंसिर ६ गते आफूलाई प्रधानमन्त्री कार्कीले हिरासतमै रहेको बेला फोन गरेर संवाद गरेको बताएका हुन् । ध्वंस नगरीकन आफूहरुको माग पूरा हुन्छ भने किन वार्ता नगर्ने भनेर आफ्नो टिमलाई वार्तामा पठाएर आन्दोलन फिर्ता लिइएको उनले बताए ।
‘६ गते बेलुका मलाई प्रधानमन्त्रीबाट फोन आयो । दुर्गाजी तपाईँले उठाउनुभएको माग सर्वहारा वर्ग, भुईँमान्छे र कम्युनिष्टले उठाउने माग तपाईँहरुले उठाउनुभएको छ । एकपटक वार्ता गरौं न । तपाईँहरुले उठाएको मागमा हामी सकारात्मक छौं । तपाईँहरुले जति पनि कुरा उठाउनुभएको छ, एकदम नागरिकहरुको जनजीविकोपार्जनसँग सम्बन्धित छ । एकपटक वार्ता गरौंन । विध्वंश नमच्चाइ तपाईँको माग पूरा भए भने किन नगर्ने भनेपछि । अहिलेको नागरिक सरकारले हाम्रो माग सुन्यो नि त,’– उनले भने ।
प्रसाईँले आफूले उठाएको माग नेपाल र नेपाली जनताको हितमा रहेको दाबी गरे । उनले आफ्नो कुनै पनि लघुवित्त र सहकारीमा २० लाखसम्मको ऋण नै नरहेको बताए । सर्वहारा वर्ग र भूईँमान्छेको मुद्दा आफूले उठाएको उनको दाबी छ । ‘मैले जति पनि माग उठाएको छु, यो नेपाल र नेपाली जनताको माग हो, मेरा माग होइन । मैले नेतृत्वमात्रै गर्दिएको हो । लघुवित्त र सहकारीको २० लाखभन्दा मुनिको ऋण मेरो होइन नि । मैले लघुवित्त र सहकारीमा ऋण नै लिएको छैन,’– उनले भने ।
अहिले कुनै पनि व्यापारी खाना खाएर आनन्दले रातभरी सुत्न सक्ने अवस्थामा नरहेको उनले बताए । काठमाडौंमा मकै पोलेर र सागको मुठा बेचेर खान्छु भन्नेले काम गर्न नपाएको प्रसाईँको भनाइ छ । आफूले हिजो गृहमन्त्री ओम प्रकाश अर्यालसँग कुरा गर्दा पनि गरिब र निमुखा जनताको पक्षमा कुरा गरेको पनि उनले बताए ।




प्रतिक्रिया