सुशीला र ओली दुवैले मुलुकलाई महासंकटमा पुर्याएः प्रभु साह


काठमाडौं, १३ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन भएको बताएका छन् । भ्रष्टाचारीलाई खबरदारी गर्ने उदेश्यले आज भक्तपुरको राधेराधेमा आयोजित आजपाको भक्तपुर निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने बताए ।

प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैले मुलुकलाई महासंकटमा पुर्याएको उनको आरोप छ । प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको मर्म र भावनालाई कुल्चिएको र एमाले नेतृत्वले त सत्ताको दुरूपयोग गरेर जेन–जी आन्दोलनमा बर्बर दमन गरेको भन्दै दुवै जनाले जेन–जी आन्दोलनमाथि गम्भीर धोका दिएको उनले बताए ।

‘जेनजी विद्रोहले यो ब्यवस्थाको अन्त्य खोजेको थियो, भ्रष्टाचारीलाई कारबाही खोजेको थियो । तर यो सुशीलाको सरकारले यो मागनै पूरा गर्न सकेन,’ अध्यक्ष साहले भने, ‘जेनजी बिद्रोहको बलमा सरकारमा जने तर जेनजीलाई थुन्ने, पक्राउ गर्ने उनीहरुको माग पनि पूरा नगर्ने । यो सरकार पुर्णरुपमा असफल भएको छ ।’

आजपा अध्यक्ष साहले जेन–जी आन्दोलन भएको भदौ २३ गते सुशीला कार्की, ओमप्रकाश अर्याल, कुलमान घिसिङलगायतको भूमिका हेरिनुपर्ने र २४ भदौमा उनीहरुको सडकमा जबरजस्त उपस्थिति र चहलपहलपनि नियाल्दा जेन–जी युवाहरुको बलमा भएको जनविद्रोहको अपहरण गरिएको आरोप लगाए ।

‘जेनजी आन्दोलन हुँदा सुशीला देखी कुलमान, ओमप्रकाश, अनिल सिन्हालगायतका छोराछोरी कहाँ थिए ? यिनीहरुका छोराछोरीको के योगदान छ ?’ भन्दै उनले प्रश्न गरे । साहले सरकारमा भएकाहरूलाई जेनजी आन्दोलनप्रति कुनै मोहमाया नभएको टिप्पणी गरे ।

गृहमन्त्री अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाउँदै आजपा अध्यक्ष साहले यस्तो गृहमन्त्री राखेर शान्ति, सुरक्षाको वातावरण बन्न नसक्ने बताए । अहिले जाँचबुझ आयोगको टिओआरअनुसार काम नभएको र आयोगको कार्यअवधि नै सकिन लाग्दासमेत हत्यारा र दोषीहरुसँग बयानसमेत लिन नसकिएको भन्दै आयोगपनि निकम्मा भएको उनको आरोप छ ।

उनले सुशीला सरकारलाई शान्ति, सु–व्यवस्था र अमनचयन कायम गर्ने कुरामा ध्यान दिँदै २१ फागुनको निर्वाचन सफल बनाउनमात्रै सम्पूर्ण तागत लगाउन सुझाव दिए । आजपा भक्तपुर क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष नरेश खड्गीको अध्यक्षतामा सम्पन्न भेलामा आजपा सहअध्यक्ष एंव संविधान सभाका सदस्य तिलक थापामगर, संगठन बिभाग प्रमुख त्रिभुवन साह, कार्यालय सदस्य सुधीर यादव, प्रवक्ता चन्द्रभुषण साह लगायतको सहभागिता रहेको सचिवालय सदस्य सुभाष साहले जनाएका छन ।

यसैगरी भेलाले नरेश खड्गीको अध्यक्षता ५१ सदस्यीय भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं। २ को क्षेत्रीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा दिनेश साह, कुन्ती थापामगर, मनोज यादव, सचीवमा कोशिला कुमारी , सहसचिवमा निर्मला मगर, उषा शर्मा, कोषाध्यक्षमा सुभी धिमाल लगायतका रहेको इन्चार्ज लखिन्द्र साहले जनाएका छन् ।

यसैगरी, आजै काठमाडौंको चौमतिमा गार्मेन्ट ब्यवसायीसँग आजपा अध्यक्ष साहले भेटघाट गरेका छन् । भेटघाटमा उनले सरकारपिच्छेको मनोमानी कर आतंकले नेपालको अर्थतन्त्र धरासायी बन्दै गएको बताए । रौतहटको मौलापुर नगरपालिका जस्तै नेपालमा पनि कर फ्री हुनुपर्ने उनले बताए ।