स्ववियु परिषद् नामावली फर्जी छ भनिनु नियतवश गरिएको आरोप होः दुजाङ शेर्पा


काठमाडौं, १५ मंसिर । स्ववियु परिषद् निर्वाचनको मतदाता नामावलीमा फर्जी नाम रहेको आरोपसँगै नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) भित्रको विवाद एकाएक चर्किएको छ। यसैबीच संघका अध्यक्ष दुजाङ शेर्पाले आफूले नेतृत्व गरेको संगठन अहिलेको विषम राजनीतिक परिस्थितिमा पार्टीलाई कसरी एकढिक्का पार्ने, पार्टीलाई कसरी रिफर्म गर्ने, विद्यार्थी आन्दोलनलाई कसरी नैतिकता र मूल्यमा आधारित बनाई अघि बढाउने, विश्वविद्यालय तथा सम्पूर्ण शिक्षा नीतिलाई कसरी पुनर्जीवित गर्ने भन्ने उद्देश्यका साथ स्ववियु परिषद्को निर्वाचन प्रक्रिया अघि बढाएको स्पष्ट गरे। उनका अनुसार देशभरिका विद्यालय र क्याम्पसबाट प्रतिनिधित्व गर्दै आएका स्ववियुका साथीहरू र आम विद्यार्थीबाट निर्वाचित भई आएका नेताहरूको नेतृत्व चयन तथा प्रशिक्षणका लागि बनाइएको यो प्रक्रिया पार्टीभित्र भइरहेको हिलो छ्यापाछ्यापका बीच पनि कमलको फूल लिएर सहज र शान्तिपूर्ण निर्वाचन हुने विश्वासका साथ अघि बढाइएको थियो।

उनले विद्यार्थीहरूलाई सम्बोधन गर्दै भने, ‘आदरणीय साथीहरू, म तपाईँहरूको माझ क्षमा माग्छु। हामीले अत्यन्तै समयपूर्वक, अत्यन्तै विधिपूर्वक स्ववियु परिषद्को निर्वाचनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेका थियौँ। पार्टीले पठाएका निर्वाचन समितिका साथीहरू, विभिन्न वैचारिक समूहका प्रतिनिधि र निर्वाचन व्यवस्थापनमा रहेका सबैसँग सहमति लिएर विधान तथा नियमावलीअनुसार मतदाता नामावली तयार पारिएको थियो। त्यो नामावली बुझाइसकेपछि भोलिपल्ट फेरि बसेर एक–एक नाम रुजु गरी सहमति जनाइएको थियो। तर अहिले आएर यही नामावली फर्जी छ भनिनु अन्याय मात्र होइन, नियतवश गरिएको आरोप हो।’

अध्यक्ष शेर्पाले भने, ‘यदि तपाईँहरूले मतदाता नामावलीमा एउटा मात्र फर्जी नाम भेट्नुभयो भने म नेवि सङ्घको पदबाट राजीनामा मात्र हैन, राजनीतिक जीवनबाटै सन्यास लिन्छु।” उनले कांग्रेस नेतृत्वलाई समेत चेतावनी दिंदै भने, “देशभरिबाट भोकैपेट आफ्ना नेता आफैँ छान्न आएका विद्यार्थीहरूलाई भएको यो अन्याय तपाईँ पार्टीका नेताहरूले कसरी हेर्नुभएको छरु लाज लाग्दैनरु यदि निर्वाचन बाँड्ने खेल भयो भने हामीले नेताहरूलाई नै प्रश्न गर्नैपर्छ।’

उनले थपे कि निर्वाचनका सबै कागजातहरू टीयू स्मृति भवनमा सुरक्षित रहेका छन् र आफू सहमतिका आधारमा छानबिन गर्न तयार रहेको बताए। उनले निर्देशन समिति, वैचारिक समूह र निर्वाचन समितिका सबै प्रतिनिधिहरूलाई खुलेर चुनौती दिँदै भने, ‘आउनुस्, यहाँ बसेर रुजु गरौँ। तपाईंहरूले भनेजस्तै फर्जी नाम भेट्टाउनुभयो भने म अहिले यहीँबाट राजनीति छाड्छु। तर नत्र भने देशभरिबाट काम रोक्दै आएका विद्यार्थीहरूलाई अन्याय गर्ने अधिकार कसैलाई छैन।’

शेर्पाले विद्यार्थीहरूलाई नडराउन र नआत्तिन आग्रह गर्दै भने, ‘हामीलाई विचलित पार्न खोज्नेहरू सफल हुन दिनुहुँदैन। विधि, नियम र नैतिकता टेकेर नै हामी निष्पक्ष निर्वाचन गराउँछौँ। तपाईंहरू असन्तुष्ट हुनुहुन्छ भने आउनुस्, छलफल गरौँ, तर बाहिर बसेर आरोप लगाउने होइन—यहाँ आएर कागजात हेरेर संवाद गरौँ।’

अन्त्यमा उनले भने, ‘विभिन्न जिल्लाबाट आएका साथीहरू, निराश नहुनुस्। यदि हामी विचलित भयौँ भने चुनाव भाड्न खोज्नेहरू सफल हुन्छन्। हामी प्रक्रियागत रूपमा, पारदर्शितासँगै, नियमअनुसार नै स्ववियु परिषद्को निर्वाचन पूरा गर्नेछौँ।’