म एमालेमा अध्यक्षको दाबेदार हुँः कर्ण थापा (भिडिओसहित)


काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) का नेता कर्ण थापाले पार्टीको ११औं महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले यसपटक पदाधिकारीमा उम्मेदवारी दिने र भविष्यको भने अध्यक्ष पदको दाबेदार रहेको बताएका हुन् । उनले ११औं महाधिवेशनमा हार ब्यहोर्नुपरे पनि पार्टी नछाड्ने बताए ।

उनले भने, ‘म नेकपा (एमाले) को अहिले नभए पनि कुनै पनि बेलाको अध्यक्ष हो । म छोड्छु यो पार्टी ? एमालेभित्रको मेरो उद्देश्य भनेको अध्यक्ष हुने हो नि त । अध्यक्ष हुन्छु, पार्टीलाई नै नेतृत्व गर्छु भन्ने मान्छे भाग्ने, छोड्ने, गल्ने, थाक्ने हुन्छ ?’

नेपालका सबै राष्ट्रवादी, वामपन्थी, देशभक्त, लोकतन्त्रवादीको नेतृत्व एमालेले गर्नुपर्ने आफ्नो मान्यता रहेको पनि उनले बताए । अहिले एमालेमा आफ्नो (कर्ण थापा) का अपरिहार्यता रहेको कुरा विस्तारै पुष्टि हुँदै गएको पनि उनले बताए ।

यसपटक ईश्वर पोखरेललाई अध्यक्ष बनाउनका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सहयोग रहने पनि उनले बताए । प्रतिस्पर्धा हुँदैमा केपी शर्मा ओली रुष्ट हुनुपर्ने काम नरहेको उनले बताए ।