काठमाडौं, १५ मंसिर । पार्टीको १५औं महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र अहिले संस्थापन पक्ष र इतर पक्षबीच फरक मत रहेको छ । संस्थापन पक्षका नेताहरु आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन हुनुपर्ने पक्षमा उभिएका छन् । त्यस्तै इतर समूहका नेताहरु भने पुसभित्र महाधिवेशन अथवा विशेष महाधिवेशन हुनुपर्ने पक्षमा छन् । नियमित महाधिवेशनको सम्भावना नदेखेपछि कांग्रेस इतर समूहका नेताहरुले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित विशेष महाधिवेशनको मागसमेत गरेका छन् ।
यता, पार्टीको केन्द्रीय समिति बैठक जारी रहेकै बेलामा उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्कालाई कार्यवाह सभापतिको जिम्मेवारी दिएर सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका थिए । देउवा सिंगापुर रहेको बेलामा पनि पटक–पटक केन्द्रीय समितिको बैठक बसेको थियो । उक्त बैठकले महाधिवेशन वा विशेष महाधिवेशनको सन्दर्भमा कुनै निर्णय गर्न सकेन । सभापति देउवा, कार्यवाह सभापति खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरुबीच पछिल्लो समय पुस २६ गतेदेखि २९ गतेसम्म महाधिवेशन गर्ने आन्तरिक सहमति बनेको बताइएको छ । स्रोतका अनुसार आज बस्ने बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने सम्भावना छ ।
कार्यवाहक दिएर आफू विदेश जाँदा पनि निकास निकाल्न नसकेको भन्दै सभापति देउवा कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय थापा, शर्मालगायतका नेताहरुसँग रिसाएको नेता रमेश रिजालले बताए । नेता रिजालका अनुसार सभापति देउवा ‘मैले छोडेर जाँदा पनि तिमीहरुले मलाई सुख दिएनौं’ भन्दै रिसाएका थिए । अबको महाधिवेशनमा सभापति देउवा कुनै पनि तरिकाबाट सहभागी नहुने उनले बताए ।
‘शेरबहादुर देउवाजी यसमा इन्भल्ब हुनुहुँदैन । यो निर्णय गराउनमा पनि उहाँ इन्भल्ब हुनुभयो । उहाँ कतिचोटी रिसाउनुभयो । ‘मैले छोडेर जाँदा पनि तिमीहरुले मलाई सुख दिएनौं’ भन्नुभयो । अब उहाँ सहभागी हुन चाहनुहुन्न,’– नेता रिजालले भने ।




प्रतिक्रिया