काठमाडौं, १५ मंसिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्र संकटमै रहेको टिप्पणी गरेका छन् । आज (सोमबार) मोरङको विराटनगरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले राष्ट्र संकटमुक्त भइनसकेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले जेन–जी आन्दोलनको क्रममा नेपाली सेनाले चाहेर पनि ऐतिहासिक धरोहर बचाउन नसकेको टिप्पणी गरे । उनले जेन–जी आन्दोलनपछिको अवस्था राज्यविहीनता जस्तो देखिएको बताए । राष्ट्रको स्वाधीनता र नेपाली जनताको जनताको आत्मसम्मानको रक्षाको निम्ति सेनाले मात्रै पुग्दोरहेन छ भन्ने सन्देश जेन–जी आन्दोलनपछिको विध्वंशबाट लिनुपर्ने प्रचण्डले बताए । उनले अब तीक करोड नेपालीलाई नै राष्ट्रिय फौज बनाउन तागतको आवश्यकता रहेको बताए । जरुरी पर्दा तीन करोड नेपाली नै मर्न तयार नहुने हो भने राष्ट्र बचाउन नसकिने स्थिति देखापर्दै गएको उनको टिप्पणी छ ।
‘हामीसँग तीन करोड नेपालीहरुको राष्ट्रिय फौज बनाउन सक्ने तागत हामीसँग छ । यदि तीन करोड नेपाली नै देशको लागि जरुरी पर्दा मर्न तयार हुने हो भने दुनियाँका कुनै तागतले नेपाललाई हराउन सक्दैन । त्यसकारण मेरो चिन्ता र अपिल के हो भने हामी सबै राष्ट्रको निम्ति सम्पूर्ण जनता नै फौज बन्ने संकल्प नगर्ने र सम्पूर्ण जनता राष्ट्रको निम्ति लड्न तयार नहुने हो भने हामीले बचाउन सकिँदैन । त्यसकारणले जनताले मात्रै, जनताको तागतले मात्रै साम्राज्यवादीलाई परास्त गर्न सकिन्छ,’– उनले भने ।




प्रतिक्रिया