काठमाडौं, १६ मंसिर । राजनीतिक विश्लेषक मुमाराम खनालले तत्काल सुशीला कार्की नेतृत्वको सरकारलाई विस्थापित गरेर अर्को नयाँ सरकार बन्ने कुनै सम्भावना नभएको दाबी गरेका छन् । उनले भने,‘अब यो सरकारलाई हटाएर अर्को सरकार बन्ने सम्भव छैन, मलाई त त्यस्तो लाग्दैन । तर, फागुन २१ गतेको चुनाव भएन भनेमात्र अर्को सरकार बन्ने हो । अहिले सम्भावना छैन । तोकिएकै मितिमा चुनाव भएन भने यो मुलुक अँध्यारो सुरुङतिर जान्छ । अन्धकारमा जान्छ । द्धन्द्ध र विवादमा जान्छ ।’
प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिले शून्यतामा शासन गर्ने बेला नभएको स्पष्ट पारे । निर्वाचनमार्फत आएका दलहरुमार्फत शासन गर्ने कुरा नै आज देशको चरित्र भएको उनको टिप्पणी छ । उनले जेनजी आन्दोलनपछि दलभित्र नेतृत्व परिवर्तनको सन्देश प्राप्त भएपनि त्यहीअनुसार अभ्यास नगरिएकोमा गुनासो पोखे ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिकाको आलोचना गरे । उनले ओलीले एमालेलाई बन्धक बनाएको आरोप लगाए । उनले भने,‘केपी ओलीले जुन कुरा गरिराखेका छन्, नेपालको राजनीति यो ढंगले जानु र नेपाली सत्ताको योखालको अवसान हुनु, र आगामी दिनमा पनि यो मुलुकलाई शान्ति र सुरक्षित नराख्नको लागि अरु सबैको भूमिका ५० प्रतिशत अनि केपी ओली एक्लैको भूमिका ५० प्रतिशत छ । आफ्नो पार्टीबाट खुरुक्क लागेर किनारामा बस्नु, आफ्नो पार्टीलाई नयाँ नेतृत्व स्थापित गरेर जानु, र तिमीहरुले राम्रो गर भन्नु नि । उहाँको काम त यो देशमा अझै द्धन्द्ध बढाउनको लागि भूमिका खेल्ने देखियो ।’




प्रतिक्रिया