मधेश प्रदेश सरकारबारे सर्वोच्चको पछिल्लो परमादेशलाई लिएर ओली आश्चर्यचकित


काठमाडौं, १६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन भनेर दिएको हिजोको आदेशलाई लिएर असन्तुष्टि जनाएका छन् । उनले यो आदेशलाई लिएर आफू आश्चर्यचकित भएको समेत प्रतिक्रिया दिए । यघपी आफूले अदालतको फैसलालाई सम्मान गर्ने उनको प्रतिक्रिया थियो ।

आज (मंगलबार) एमालेको वन, वातावरण तथा जलवायु परिवर्तन विभागले आयोजना गरेको श्रोत पुस्तिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले पनि अब पार्टी र मान्छे हेरेर आदेश तथा फैसला गर्न थालेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सम्बोधनको क्रममा उनले भने,‘कानून हेरेर होइन, मान्छे र पार्टी हेरेर फैसला गर्ने अदालतको समेत परिपाटी बसेको छ । संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भनेको छ । हिजो सर्वोच्चबाट एक महिना पुग्न चार दिन बाँकी होला । सर्वोच्चले २४ घण्टाभित्र लिनु भन्छ । म सुन्दा आश्चर्य चकित भएँ, चार दिनपछि त एक महिना पुग्छ तीन दिन अगाडि तान्नको लागि संविधान विपरीत आदेश दिन्छ ।’ file photo