भारतको राजकीय भ्रमणमा पुटिन, यस्ता छन् एजेन्डा


काठमाडौं, मंसिर १९ । दुई दिने भ्रमणका क्रममा यतिबेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारतको नयाँ दिल्लीमा रहेका छन् । विहिबार बेलुका दिल्ली पुगेका पुटिनलाई विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । पुटिनको सम्मानमा विमानस्थलमा गरिएको संगीत र नृत्यसहितको भव्य स्वागत समारोहपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा विमानस्थलबाट बाहिरिएका थिए।

पुटिनले आज स्वदेश फर्किनु अघि विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ भने भारतसँग विभिन्न उच्चस्तरीय छलफलमा भाग लिने छन् । भ्रमणको क्रममा पुटिन २३औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन्। राष्ट्रपति पुटिनलाई भारतको राष्ट्रपति भवनमा आज औपचारिक स्वागत तथा त्रिसेवा गार्ड अफ अनर प्राप्त गर्ने कार्यक्रम रहेको छ ।

दुवै देशका नेता हैदराबाद हाउसमा द्विपक्षीय वार्ता गर्दै आ–आफ्ना प्रतिनिधिमण्डलसहित छलफलमा सहभागी हुनेछन्। रुसी प्रतिनिधिमण्डलले तेल, रक्षा, भूराजनीति, व्यापार, अर्थतन्त्र, विज्ञान, प्रविधि र संस्कृति जस्ता क्षेत्रहरूमा सहयोगका विषयमा छलफल गर्नेछ। पुटिन यसअघि चार वर्ष पहिले भारत भ्रमणमा आएका थिए । उनी सन् २०२१ मा भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन भारत भ्रमणमा आएका थिए ।