ओलीको नेतृत्वमा हाँसिल उपलब्धि र प्राप्त प्रशंसाहरु कमजोर भइरहेको अनुभूति भएको छ : ईश्वर पोखरेल (भिडिओसहित)


काठमाडौं, १९ मंसिर । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा ११औं महाधिवेशनमा अध्यक्षका उम्मेद्वार ईश्वर पोखरेलले केपी शर्मा ओलीले पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रीको रुपमा महत्वपूर्ण काम गरेको र उपलब्धि हाँसिल भएको बताएका छन् । ओलीको नेतृत्वमा हाँसिल भएका उपलब्धिहरुलाई देश र दुनियाँले प्रशंसा गरेको उनले स्मरण गराए ।

तर, अहिले आएर ओलीको नेतृत्वमा हाँसिल भएका उपलब्धि र भएका प्रशंसा कमजोर भइरहेको अनुभूति भएको उनको टिप्पणी छ । हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अब ओली थप जिम्मेवारीमा रहिरहने कुराले पार्टी र आन्दोलनलाई नै नोक्सान पुग्ने बताए ।

अब ओलीले पार्टीबाट सम्मानजनक बहिर्गमन लिनुपर्ने उनको सुझाव छ । अब ओली पार्टीको अभिभावक वा संरक्षकको रुपमा रहनु नै उचित हुने पोखरेलको तर्क छ । उनले पार्टीभित्र सहकार्य वा प्रतिष्पर्धा गर्दा पनि असहज मान्नुपर्ने कुनै कारण नभएको तर्क गरे । अहिले देशमा देखापरेका चूनौति हल गर्नको लागि पार्टी बलियो हुनुपर्ने उनको धारणा छ । पार्टी बलियो बनाउनको लागि सामूहिक नेतृत्व र विधि तथा पद्धतीमा चल्नुपर्ने उनले सुझाए ।