काठमाडौं, २० मंसिर । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीको ११औँ महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने विश्वास व्यक्त गरेका छन् । प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको सम्वाद कार्यक्रममा बोल्दै उपाध्यक्ष बादलले अध्यक्ष ओलीलाई नै निरन्तरता दिने निष्कर्षमा पार्टी पुगेको बताएका हुन् ।
बादलले मुलुकमा राष्ट्रिय स्वाधिनता, लोकतन्त्रको रक्षा र प्रतिक्रान्तिलाई परास्त गर्न पनि अध्यक्ष ओली नेतृत्वको विकल्प नभएको निष्कर्षमा पार्टी केन्द्रीय कमिटी पुगेको स्मरण गराए । ओलीका नीति, विचार र उनले हासिल गरेको उपलब्धिले पनि नेतृत्वमा निरन्तरता दिन आवश्यक देखिएको उनको भनाई थियो । उनले आम जनता, पार्टी कार्यकर्ता र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न पनि एमालेले उनलाई नेतृत्वमा निरन्तरता दिन आवश्यक रहेको बताए ।
अहिलेको अवस्थामा नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त नभएको समेत उनको टिप्पणी थियो । उनले भने‘हुन त अहिले पार्टीका नेताहरू सार्वजनिक रूपमा विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहनुभएको छ । केन्द्रीय समितिको निर्णयको कोणबाट हेर्दा यो ढङ्गमा जानु एमाले नेताहरूका लागि उपयुक्त होइन । यसले पार्टीलाई एकताबद्ध गर्दैन, यसले अझ विघटन र विर्सजनतिर लैजान्छ । अहिलेको सन्दर्भमा प्रतिस्पर्धाको नामबाट यो ढङ्गले जान हामी उपयुक्त हुँदैन । त्यसकारण एकताबद्ध नेतृत्व सहमतिका साथ अघि बढाउने केन्द्रीय समितिको पनि निर्णय भएको र आम जनता, कार्यकर्ताको पनि यो चाहना भएको हुनाले यही ढङ्गले जानुपर्छ भन्ने हाम्रो ठहर छ ।’




प्रतिक्रिया