एमालेको ११औं महाधिवेशनः ईश्वर पोखरेलकै प्रस्तावमा अध्यक्ष बन्ने केपी ओलीको चाहना


काठमाडौं, २१ मंसिर । नेकपा (एमाले) का नेता महेश बर्तौलाले केपी शर्मा ओलीले पार्टीको ११औं महाधिवेशनबाट अध्यक्ष बन्ने कुरा एमालेलाई मात्रै नभएर समग्र देशको लागि अर्थ राख्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओली नै आजको अभिभावकीय नेतृत्व रहेको दाबी गरे ।

पार्टीभित्र पनि ओली सर्वस्वीकार्य व्यक्तित्व रहेको उनले बताए । ‘सबैको साझा स्वीकारोक्ति भएको टावरिङ पर्सनालिटी, देशभित्र मात्रै होइन, देश बाहिर पनि नेपाल र देशको नेतृत्व भन्नेबित्तिकै केपी ओलीको झ–झल्को आउने व्यक्तित्व हो । उहाँको नेतृत्व यो पटकको महाधिवेशनबाट हुन जरुरी छ भन्ने हाम्रो भनाइ हो । कतिपयको आफ्नो–आफ्नो मतहरु हुन सक्छ । सामाजिक सञ्जालहरुको प्रयोगबाट विभिन्न भ्रमको सिर्जना भइरहेको छ । तर, पूर्वाग्रहभन्दा बाहिर गएर भन्ने हो भने उहाँको नेतृत्व आवश्यक छ,’– उनले भने ।

साथै, उनले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गर्न खोज्नुलाई आफूहरुले स्वभाविक रुपमा लिएको पनि बताए । अहिले अन्तरविरोध भन्दा पनि आपसी समझदारी खोजिनुपर्ने बताए । ओली जेन–जीको माग, भावना र चाहनालाई बुझ्न र सुन्न सक्ने नेतृत्व रहेको नेता बर्तौलाको दाबी छ ।

उनले जेन–जी आन्दोललाई देखाएर आफ्नो अभिष्ट पूरा गर्ने तयारी भइरहेको बताए । नेता पोखरेलकै प्रस्तावमा ओली अध्यक्ष बन्ने पनि उनले दाबी गरे । ‘ईश्वर पोखरेलकै प्रस्तावमा हाम्रा अध्यक्षज्यू अध्यक्ष बन्नुहुन्छ,’– उनले भने ।