तनहुँ, २१ मङ्सिर । जिल्लाको व्यास नगरपालिका कार्यालयद्वारा चार महिनाको अवधिमा ३४६ गाई र भैँसीमा कृत्रिम गर्भाधान गरिएको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिक साउनदेखि कात्तिकसम्मको अवधिमा १५७ गाई र १८९ भैँसीमा गर्भाधान गरिएको हो ।
त्यसैगरी, जोखिम क्षेत्रका ४०२ गाई र भैँसीमा लम्पीस्किन रोगविरुद्धको खोप लगाई रोग नियन्त्रणमा लिइएको कृषि, पशुपन्छी तथा सहकारी विकास शाखा प्रमुख डा मनोज विश्वकर्माले जानकारी दिए । उनका अनुसार ६६० किसानका सात हजार ५२५ पशुपन्छीलाई विभिन्न समस्याको उपचार सेवा एवं निःशुल्क औषधि वितरण गरिएको छ ।
“नगरपालिकाले सहकारीमार्फत प्रतिकिलोग्राम खसी र बोकाको मासुमा २० अनुदान दिँदै आएको छ”, उनले भने, “वार्षिक २० लाख २५ हजार लिटर दूध उत्पादन हुन्छ, सहकारीमार्फत दुईका दरले अनुदान दिँदा वार्षिक ४० लाख ५० हजार खर्च हुने गरेको छ ।” नगरपालिकाभित्रका पशुपालन किसानमा नश्ल सुधार कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएको नगरपालिकाले जनाएको छ ।
पशुमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननका माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने डा विश्वकर्माले बताए
कृत्रिम गर्भाधान गरेको तीन वर्षभित्रै पशुहरूले आफ्नो उत्पादकत्व दिन सक्नेछन् । साथै जिल्लामा उत्पादन हुने दूधलगायत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशु आयात गर्ने कार्य निरुत्साहित हुँदै गएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
नेपालमा पालिएका दुधालु गाई र भैँसीको नश्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएका कारण नगरपालिकाको तर्फबाट पनि किसानलाई हौसला मिल्ने गरी सेवा प्रवाह गर्दै आएको उनले बताए । रासस




प्रतिक्रिया