पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का सम्झौतादेखि नै अनियमितता र भ्रष्टाचार, महानिर्देशक अधिकारीसहितलाई मुद्दा दायर गर्ने तयारी


काठमाडौं, २१ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा ठूलो रकम भ्रष्टाचार भएको निष्कर्षसहित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितलाई मुद्दा दर्ताको तयारी गरेको छ ।

संसदीय छानविन समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १० अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै कारबाहीका लागि अख्तियारलाई सिफारिस गरेको थियो । संसदीय छानविन समितिको सिफारिसअनुसार छानविन सकाएर नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्ने तयारी भइरहेको अख्तियार स्रोतले बतायो ।

विमानस्थल निर्माणमा ठेक्का सम्झौतादेखि नै अनियमितता र भ्रष्टाचार भएको संसदीय छानविन समितिको निष्कर्ष रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का प्रक्रियाकै क्रममा ८ अर्ब लागत बढाएर भ्रष्टाचार गरेको, सम्झौता विपरीत अतिरिक्त भुक्तानी दिएको, रनवे निर्माणमा हिनामिना गरेको, सम्झौता विपरीत दुई अर्बभन्दा बढी कर छुट दिएको, परामर्श सेवा र इन्धन भण्डारण लगायतमा हिनामिना गरेको आरोप रहेको छ ।