आशिकाको नजरमा नेताहरुः ओली अहंकारी, आरजु सामान्ती र प्रचण्ड जनताको कुरा सुन्ने


काठमाडौं, २१ मंसिर । सामाजिक अभियन्ता आशिका तामाङले पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई अहंकारीको संज्ञा दिएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा ‘तपाईँलाई केपी ओली कस्तो लाग्छ ?’ भन्ने प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘केपी शर्मा अ‍ोली नराम्रो मान्छे होइन क्या । राम्रो मान्छे हो । तर, एकदम अहंकारले भरिएको छ । मान्छेको मन सफा हुनुपर्यो, नियत सफा हुनुपर्यो । त्यो केपी ओलीमा शून्य, छैन ।’

साथै, उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बारेमा भने कुनै टिपप्णी गर्न चाहिनन् । उनले देउवा पत्नी आरजु राणालाई भने सामन्तीको संज्ञा दिईन् । उनले भनिन्, ‘आर्जु देउवाले पनि अलिकता समान्तीपन देखाउनुभयो । जनतासामु भताभुङ्ग भइसकेको कुरा अब नखोतलौं ।’

अभियन्ता तामाङले अरु नेताहरु भन्दा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने जनताको कुरा सुनेर काम गरेको बताईन् । प्रचण्डले सामन्तवाद हटाउनका लागि गरेको क्रान्ति निकै महत्वपूर्ण रहेको उनको भनाइ छ । प्रचण्डलाई पनि अरु नेताहरुजस्तै त हो नि भनेर एउटै टोकरीमा हाल्न नमिल्ने उनको भनाइ छ ।

‘अरु नेताहरु भन्दा प्रचण्ड चाहिँ अलि हो जस्तो लाग्छ । किनभन्दाखेरी प्रचण्डजीले जनताका कुराहरु केहीमात्रामा सुन्नुहुन्छ । उहाँले उठान गर्नुभएको कुराहरु हेर्दै हामी हुर्केको हो । क्रान्ति गर्नुभयो । सामन्तवाद हटाउनुभयो । उहाँहरु तीनै जनालाई एउटै टोकरीमा हाल्न मिल्दैन,’– उनले भनिन् ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने सबै पार्टीहरु मिलेर मुर्गा बनाएको उनको टिप्पणी छ । ‘सबै पार्टीहरु मिलेर रवि दाईलाई मुर्गा बनाए कि जस्तो लाग्छ मलाई चाहिँ । सबै जनाले त्यस्तो गरेको जस्तो लाग्छ,’– उनले भनिन् ।

साथै, उनले जेन–जी आन्दोलनको क्रममा घाइते भएकाहरुलाई आफूले ५०/६० लाख सहयोग गरेको दाबी गरिन् । उनले भनिन्, ‘मैले त्यो बेलामा ५०/६० लाख चाहिँ बाडेँ । तीन करोड नेपाली जनताले फण्डिङ गरेको हो । नेपालीलाई पर्दाखेरी सिटामोल लिएर कोही आउँछ भने त्यो आशिका तामाङ हो ।’