‘भेडा मरेर के भो मन मरेको छैन’


चेहेरे चौर (जुम्ला), २१ मङ्सिर । चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षांै भयो । जुम्ला बजारबाट करिब चार किलोमिटर माथि मनमोहक डाँडामा हिउँद र वर्षात् दुवै समयमा स्थानीयवासीले गाई, गोरु, बाख्रा, बोका, खसी, भैँसी, भेडा, च्याङ्ग्रा लगायतका चौपाया यहाँ चरनका लागि ल्याउँदछन् ।

चन्दननाथ नगरपालिका–३ स्थित यस पाटन (चौर क्षेत्र) मा चन्दननाथ–२ खोलीकोट, भण्डारीवाडा , चन्दननाथ–३ शान्तिनगर, सिंखडावाडा, बस्थवाडासहित कनकसुन्दरी गाउँपालिकाका चौपायाको चरन क्षेत्र हो । चौरमाथिको उपल्लो जङ्गल जहाँ बाघ, भालुसहित कालिज र डाँफेको बासस्थान क्षेत्र पनि हो ।

पाटनमा बाक्लो हिउँ पर्न छाडेपछि चन्दननाथ–३ भेडापालक किसान जङ्गबहादुर खत्री चिन्तित छन् नै । पछिल्ला दिनमा उनी खुसी देखिन्छन् । उनी भन्छन्, “पाटनमा बाक्लो हिउँ नपर्दा चरन क्षेत्रमा घाँसपातसहित अन्य झारपात र जडीबुटीका बिरुवा कम उम्रिन थाले । चौपायासहित जङ्गली जनावरलाई पाटनमा चरेर अघाउनै मुश्किल भयो । ” उनका अनुसार बाक्लो हिउँ परेको वर्ष पाटन क्षेत्रमा घासपात, झारपात धेरै उम्रिन्थे । जलवायु परिवर्तनका असर यहाँ पनि देखिएको छ ।

यस स्थानमा साँझ बिहान सिरेटो (हावा) चलेर अत्यधिक चिसो हुन्छ । स्थानीयवासीले सूर्योदयपछिको पारिलो घाममा मात्र पाटनमा चौपायलाई चरनका लागि ल्याउँदछन् ।

जुम्ला बजारको दृश्यावलोकनका लागि यो पाटन आकर्षक क्षेत्र मानिन्छ । दृश्यावलोकन गर्नेको यहाँ भीड लाग्ने गर्दछ । पाटनको पश्चिमी केही भू भागमा सीमसार छ । पछिल्लो समय यही सीमसार जमिनलाई प्राकृतिक रुपमै संरक्षण गरेर दुई वटा पुनर्रभरण (रिचार्ज) पोखरी बनाइएको छ । यसबाट चौपायाका लागि पानी उपयोग गर्न सजिलो भएको छ । सीमसार क्षेत्रलाई उपयोग गरेर पोखरी बनाइएपछि स्थानीयवासीलाई चौपायालाई पानी खुवाउन परेको समस्या केही हदसम्म अन्त्य भएको छ ।

चिरे–घिमे रिचार्ज पोखरी निर्माण समितिका अध्यक्षसमेत रहेका ५१ वर्षीय किसान खत्रीले खुसी हुँदै भने, “रिचार्ज पोखरीमा जम्मा भएका पानीखान पाटन र जंगलमा चरनका लागि ल्याइएका चौपायासहित जङ्गली जनावरहरु आउन थालेका छन् ।” उनका अनुसार एकघण्टा टाढादेखि पोखरीमा पानी पिउन बस्तुभाउसहित जनावर आउँदछन् । अहिले अत्यधिक चिसोका कारण पोखरीको केही भाग बरफ भएको छ ।

स्वीस रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाद्वारा चन्दननाथ नगरपालिकामा सञ्चालित ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवद्र्धन परियोजना’ले रिचार्ज पोखरी निर्माण गर्न सहयोग गरेको हो ।

परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले भने, “पाटन र जंगलमा आएका चौपायासहित जङ्गली जनावरलाई पानीको चरम सङ्कट छ भन्ने कुरा समुदायबाट जानकारी आयो । यसलाई केही हदसम्म अन्त्य गर्न समुदायका मागअनुसार नै रिचार्ज पोखरी निर्माणमा सहयोग गरेका हौँ ।” उहाँका अनुसार यसबाट समुदायलाई कसरी जलवायु परिवर्तन अनुकूलन हुने भन्ने कुरा पनि सिकाएको छ ।

किसान खत्रीले पालेका २०० भेडामध्ये गत असार २३ गतेको अकल्पनीय चट्याङबाट ५२ वटा अकालमै म¥यो । उनले आँसु झार्दै भने, “भेडा त मरेर केही छैन । पाल्न सकिन्छ । हेरचाहका लागि राखिएका भाइ चट्याङ लागेर गम्भीर घाइते भयो । जुम्लामा उपचार हुन नसकेपछि काठमाडौँको टिचिङ अस्पतालमा लगियो । त्यहाँ उपचारबाट अझै फर्किएको छैन । सम्पत्ति सकिन लागिसक्यो कसैले सहयोग नगर्दा दिक्क लाग्छ । सहयोग गर्छु भन्दछन् कसैले गर्दैनन् ।”

उत्कृष्ट भेडापालक किसानका रुपमा उनले धेरै मानसम्मान पनि प्राप्त गरिसकेका छन् । भेडा मरे पनि किसान खत्रीका मुहारमा निरासा पटक्कै झल्किदैन । दसैँमा बिक्री गरेर बाँकी रहेका माउ भेडा चराउन पाटन क्षेत्रतिर लाग्दै गरेका अवस्थामा उनले भने, “चेहेरेमा प्राकृतिक रुपमा रिचार्ज पोखरी बनाइयो । यसबाट चौपायालाई पानी र नुन खुवाउन सजिलो भएको छ । यसका लागि नेपाल रेडक्रसलाई धन्यवाद । शक्ति र श्वास रहेसम्म भेडा पाल्न छाड्दिन । जे गर्छु यही माटोमा गर्छु । भेडापालन व्यवसायमा पैसा पनि छ जोखिम पनि छ । पाँच छ लाख कमाउन विदेश जानुपर्दैन ।” मासु र ऊनका लागि भेडाको उपयोग गरिन्छ ।

चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवी खड्काले जहाँ विपद् त्यहाँ रेडक्रस भन्ने भावनाअनुसार चेहेरे पाटन क्षेत्रमा रिचार्ज पोखरी निर्माण गरेको र यसबाट समुदाय लाभाविन्वत भएको बताए । उनले भने, “यसबाट बस्तुभाउले निधक्क पानी खान पाएका छन् । ” चन्दननाथ –३का वडाध्यक्ष राजन खत्रीले समुदायलाई जलवायु उत्थानशील बनाउन समुदायलाई सक्रिय बनाइएको र यसै अन्तर्ग चेहेरेको पाटन क्षेत्रमा प्राकृति पोखरी निर्माण गरिएको जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले जलवायु परिवर्तनका संकट टार्न समुदायलाई जलवायु उत्थानशील बनाउन नेपाल रेडक्रसले ध्यान दिइरहेको बताए । रासस