जेन-जी आन्दोलनको बेइज्जत नगरिदिनुस् प्रधानमन्त्रीज्यू, राजीनामा दिनुस्ः मिराज ढुङ्गाना


काठमाडौं, २१ मंसिर । जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार असफल भएको बताएका छन् । आज (आइतबार) जेन–जी अभियन्ता प्रकाश शर्माको रिहाइको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका ढुङ्गानाले अन्तरिम सरकार हाइज्याक भएर असफल भएको दाबी गरेका हुन् । उनले प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने बताए ।

‘आन्दोलनपछि बनेको सरकारले पनि विकास गर्न सक्दैन भने कसैले सक्दैन । त्यही भएर आन्दोलनको बेइज्जत नगरिदिनुहोस् प्रधानमन्त्रीज्यू, तपाईं बरु सक्नुहुन्न भने राजीनामा दिनुहोस्,’– ढुङ्गानाले भने ।

ढुङ्गानाले अन्तरिम सरकार जेनजी आन्दोलनको आधारमा बनेको भए पनि आफूहरूको माग सम्बोधन नगरेको बताए । प्रधानमन्त्री कार्कीलाई जेन–जी आन्दोलनको अपमान नगर्न उनले आग्रह गरे । जेन–जी अभियन्ता ढुङ्गानाले पुराना दलका सरकारमा दलका नेताहरुको पुनरागमन हुने सम्भावनाप्रति चिन्ता व्यक्त गरे ।