रौतहट, २१ मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले देश र जनतालाई शीरमा राखेर राजनीति गर्नेले नै अब देशको नेतृत्व गर्नुपर्ने बताएका छन् । उनले देश विकास नहुनुमा भ्रष्टाचार र लुटतन्त्र प्रमुख कारण भएको भन्दै अब देशबाट भ्रष्टाचार जरैदेखि उखेलेर फाल्नुपर्ने बेला आएको बताए । आम जनता पार्टीको निर्वाचन क्षेत्रीय भेला रौतहट–४ चन्द्रपुर–७ नयाँ बस्तीमा आयोजित आजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
धमलाले रौतहट जिल्लाले मुलुकमा परिवर्तनको नेतृत्व गरेको स्मरण गराए । तर, इतिहासदेखि आजसम्म रौतहटले परिवर्तनको लागि गरेको हस्तक्षेपकारी भूमिका र नेतृत्वअनुसार विकास र समृद्धिको यात्रा अघि नबढेकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘यो जिल्लाले परिवर्तनको लागि ठूलो योगदान गरेको छ । तर, विकास भएको छैन । यो जिल्लाले प्रधानमन्त्री पायो । तर, विकास दिएनन् । रोजगारी सिर्जना गर्न सकेनन् । नेतृत्व असक्षम भएको कारणले यस्तो भयो ।’ सँगसँगै धमलाले रौतहटले खराब नेतामात्रै नभएर इमानदार र जनताको मन जित्ने नेतापनि जन्माएको भन्दै उनीहरुलाई अब देशको नेतृत्व गर्ने ठाउँमा पुर्याउनुपर्ने मत राखे ।
उनले आजपाका अध्यक्ष प्रभु साहले जिल्लाको विकासको लागि खेलेको भूमिकाको प्रशंसा गरे । अब सबै नेता जेनजी आन्दोलनको मर्म र भावनअनुसार चल्नुपर्ने धमलाको मत छ । भ्रष्ट र लुटेरालाई कारबाही गरिनुपर्ने आफ्नो एकसूत्रीय एजेण्डा रहेको धमलाको भनाई छ ।
उनले भने,‘देशमा जेनजीको जनविद्रोहपछि एउटा जनमत खडा भएको छ । आजसम्म म कुनैपनि दलको सदस्य होईन । यो देशको हरेक परिवर्तनमा मेरो भूमिका छ । ०४६ सालको जनआन्दोलनमा सहभागी भएको व्यक्ति हुँ, त्यतिवेला म ७ दिन जेलमा बसेको छु । यो देशको ०४६ पछिका हरेक परिवर्तनको आन्दोलनमा पत्रकारिताको माध्यमबाट मैले सशक्त भूमिका खेलेको छु । ऋषि धमला जनता र भुईंमान्छेसँग जोडिएको मान्छे हो । ऋषि धमला दोस्रो जनआन्दोलनको बेलामा लोकतन्त्रको लागि २७ पटक हिरासतमा बस्यो । कानूनी शासन र विधिको शासनको लागि लडेको छु ।’
उनले आज आफू रौतहटवासीलाई अभिनन्दन गर्न आएको सुनाए । उनले भने,‘म यो रौतहटको माटोलाई छोएर भन्छु–अब भ्रष्टाचारीलाई कारबाी गर्न ऋषि धमला जनताको बीचमा आएको छ । ऋषि धमलाले पत्रकारिताको माध्यमबाट धेरै देख्यो, धेरै योगदान गर्यो । विहान, दिउँसो र रातिसम्म मिडियामार्फत कराएको छ, सुशासन देउ भनेको छ । जनता सबभन्दा ठूलो कुरा हो । मेरो लागि जनता नै ठूलो कुरा हो । लोकतन्त्रको लागि मैले योगदान गरेको हो ।’ आफ्ना लागि रौतहटवासी भगवानसरह रहेको धमलाको भनाई छ ।
उनले थपे,‘मेरा लागि रौतहटवासी भगवानसरह हुनुहुन्छ, म पूजा गर्नको लागि यहाँ आएको छु । जनताको मुहारमा म खुशी देख्न चाहन्छु । मरो पत्रकारिताले ठूलो ठूलो काण्डको पर्दाफास गरेको छ । ठूला नेताको पद खाईदिएको छ । आज म प्रभु साहलाई साक्षी राखेर भन्न चाहन्छु–म कहिल्यैपनि रौतहटवासीलाई बिर्सिने छैन । तपाईंहरुको माया, स्नेह र सम्मान, सहयोग ऋषि धमलालाई छ । यहाँका जनता इमानदार हुनुहुन्छ ।’
उनले आफूले जहिल्यै जनताको एजेण्डा बोकेको बताए । उनले भने,‘म जनताको एजेण्डा बोक्ने मान्छे हुँ । गरिब, निमुखाको एजेण्डा बोकेको छु । रौतहटबाट चुनाव लड्नको लागि १५ वर्षअघि नै प्रस्ताव आएको थियो । अहिले रौतहटवासीले जे भन्नुहुन्छ, म त्यही गर्छु ।’
धमलाले मधेश प्रदेशबाट अब प्रधानमन्त्री बनाउने र देशको विकास र समृद्धिको बहार ल्याउने घोषणा गरे । उनले भने,‘जबसम्म यो देशको मधेशको धर्तीमा जन्मिएको धर्तीपुत्रले देशको नेतृत्व गर्दैन्, तबसम्म देशको विकास हुँदैन । प्रगति हुँदैन । उन्नति हुँदैन । भ्रष्टाचारीलाई कारबाही हुँदैन । अबको यात्रा, कहाँबाट सुरु गर्ने ? रौतहटबाट सुरु गर्ने ?’ उनले मुलुकमा दलतन्त्र र नेतातन्त्र नभई जनताको शासन स्थापना गरिनुपर्ने बताए ।




प्रतिक्रिया