काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेलगायतका नेताहरु प्रतिनिधिसभा पूनःस्थापनाको माग गरेर सर्वोच्च अदालत पुगेका छन् । घिमिरेसँगै सचेतक सुशिला थिङ, दिपक खड्कालगायत पूनःस्थापनाको माग लिएर सर्वोच्च पुगेका हुन् । यसअघि एमाले यो मुद्दा लिएर सर्वोच्च पुगिसकेको छ ।
एमालेबाट निवर्तमान प्रमुख सचेतक महेश बर्तौला र निवर्तमान सचेतक सुनिता बराल अदालत पुगेका थिए । उनीहरुको रिटमा १७ मंसिरमा संवैधानिक इजलासमा सुनुवाई भएको थियो । र, कारण देखाउ आदेश दिएको थियो । त्यसको पाँच दिनपछि कांग्रेसका केही नेतापनि यो मुद्दा लिएर अदालत पुगेका हुन् । यद्धपी यो रिटको विषयमा कांग्रेसका शीर्ष नेताहरु बै बेखबर छन् । शीर्ष नेता डा. शेखर कोइरालाले पनि यसमा अनभिज्ञता प्रकट गरे ।
उता, प्रवक्ता डा. प्रकाशशरण महतले पनि थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले पार्टीले केन्द्रीय समितिको बैठकबाट नै चुनावमा जाने निर्णय गरेको भन्दै प्रतिनिधिसभा पूनःस्थापनाको माग लिएर सर्वोच्च पुगेकोमा आश्चर्य प्रकट गरे । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा पनि चुनावको पक्षमा उभिएका छन् ।
उनीहरुले सार्वजनिक रुपमा नै अब संसद् पूनःस्थापनाको मुद्दा पार्टीको एजेण्डा नभएको प्रतिक्रिया दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेपछि कांग्रेस पनि प्रतिनिधिसभा पूनःस्थापनाको माग लिएर सर्वोच्च पुगेमा अर्थपूर्ण रुपमा हेरिएको छ । file photo




प्रतिक्रिया