काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । विघटित प्रतिनिधिसभामा पार्टीबाट प्रमुख सचेतक रहेका श्याम प्रसाद घिमिरे र सचेतक सुशीला थिङको नेतृत्वमा सर्वोच्चमा रिट दायर गरिएको हो ।
कांग्रेस नेतृ थिङले रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै रिट दायर भएको पुष्टी गरिन् । उनले घिमिरे र आफ्नो नेतृत्वमा नेताहरु नागिना यादव, शान्ति परियार, सीता राना, जावेदा खातुन, दीपक खड्काको हस्ताक्षरमा रिट दायर गरिएको बताईन् । उनले भनिन्, ‘प्रमुख सचेतक र सचेतकको नेतृत्वमा गएको हो । आजसम्म हामीले ८ जनाको हस्ताक्षर गरेका छौं । पछि थप्दै जाने भन्ने कुरा छ । प्रमुख सचेतक श्याम घिमिरे, म (सुशीला थिङ), नागिना यादव, शान्ति परियार, सीता राना, जावेदा खातुन, दीपक खड्काले रिटमा हस्ताक्षर गर्नुभएको छ ।’
नेतृ थिङले पार्टीगत निर्णयले भन्दा पनि सांसदहरुले स्वविवेक प्रयोग गरेर संसद् विघटनविरुद्ध रिट दर्ता गरिएको बताईन् । उनले संसद्् विघटनलाई कांग्रेसले अलोकतान्त्रिक र असंवैधानिक कदम भनिसकेको र अदालतले गरेको निर्णयलाई मानेर जाने निर्णय गरेको उनले बताईन् । कांग्रेसले संसद् विघटनविरुद्ध अदालत जानुपर्छ पनि नभनेको र अदालत जान हुँदैन पनि नभनेको बताउँदै उनले रिट दायर गर्न आफूहरु स्वतन्त्र रहेको सुनाईन् । ‘कांग्रेसले रिट दायर गर्न जानैपर्छ पनि भनेको छैन, जान हुँदैन पनि भनेको छैन । हामीहरुले स्वतन्त्र रुपमा रिट दायर गरेका हौं,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भनिन् ।




प्रतिक्रिया