रिपुम गुम्बामा आगालागी, लत्ताकपडा, भाँडाकुँडा र फर्निचर जलेर नष्ट


काठमाडौं, २१ मङ्सिर । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए ।

आगलागीबाट भवनका करिब ५० वटा कोठा, त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर सबै जलेर नष्ट भएको उनले बताए । त्यहाँ लामासहित ६० जना भिक्षुहरु बस्ने गरेको र आगलागीको कारण भने खुल्न सकेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

घटनास्थलमा प्रहरीचौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङको टोली खटेको र क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको उनले बताए ।

यहाँको रिपुम गुम्बा एक हजार वर्षभन्दा पुरानो रहेको मानिन्छ । आगलागी भएको लामाको आवास भवन भने ४० वर्ष पुरानो हो ।