काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष


पर्वत, २२ मङ्सिर । यहाँको कुश्मा नगरपालिकास्थित एक परिवारले स्वर्गीय आमाको काजकिरियामा सङ्कलित भेटीबाट विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।

स्थानीय युवा वर्ष प्राथमिक विद्यालयमा अक्षयकोषको स्थापना गरिएको हो । परिवारका सदस्यहरूले समाजसेवामा आमाको झुकावलाई निरन्तरता दिने उद्देश्यले मृतकको तेह्रौँ पुण्य तिथिका अवसरमा कोषको स्थापना गरेको मृतकका छोरा विनोद पुरीले जानकारी दिए ।

स्व मातापिता देवेन्द्रकुमारी पुरी र करुणाराज पुरीको नाममा स्थापना गरिएको अक्षयकोषमा सुरुआती रूपमा एक लाख ५१ हजार ३२५ जम्मा गरिएको छ । परिवारका अनुसार स्व आमाका नाममा सङ्कलित भेटी रकममा थप गरी अक्षयकोष स्थापना गर्न विद्यालयलाई नगद रकम हस्तान्तरण गरिएको हो ।

कोषबाट असहाय, आर्थिक रूपमा कमजोर तथा शैक्षिक रूपमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरिने विद्यालयका प्रधानाध्यापक खड्कराज पुरीले जानकारी दिए ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम नेपालीले समाजबाट प्राप्त यस्ता सहयोगले शैक्षिक गुणस्तर वृद्धि गर्न ठूलो योगदान पुग्ने धारणा राखे । रासस