म संसद् पुनर्स्थापनाको पक्ष/विपक्षमा छैन, अदालतको निर्णय मान्छुः उपसभामुख राना (भिडिओसहित)


काठमाडौं, २२ मंसिर । विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले संसद् विघटन भए पनि सभामुख र उपसभामुखको पद कायमै रहने बताएकी छन् । सभामुख र उपसभामुखको भूमिका संघीय संसद् सचिवालयको व्यवस्थापन समितिको पनि सदस्य र संवैधानिक परिषद्को पनि सदस्य भएको हिसाबले संसद् विघटन हुँदैमा आफूहरुको पद तलमाथि नहुने बताएकी हुन् । उनले कार्यपालिकाले मात्रै देश चलाउन नसक्ने र व्यवस्थापिकका सरकारलाई चेक एण्ड ब्यालेन्समा राख्ने महत्वपूर्ण संस्था रहेको बताईन् ।

आफूहरु संविधानलाई मानेर नै पदमा बसिराखेको र सक्रिय भूमिका निर्वाह गरिराखेको बताईन् । उनले सभामुख र उपसभामुखलाई संसद् नचल्दा पनि कामको खाँचो नरहेको बताईन् । उपसभामुख रानाले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीसँग आवश्यक पर्दा भेट भइरहेको बताईन् ।

उपसभामुख रानाले आफू संसद् पुनर्स्थापनाको पक्ष र विपक्षमा नरहेको बताईन् । विषम परिस्थितिमा संसद् विघटन हुन सक्ने उनको भनाइ छ । पहिला पनि संसद् विघटन र पुनर्स्थापना भएको नजीर जानकारी गराउँदै उनले अब यो विषय अदालतको निर्णय मान्न आफू तयार रहेको बताईन् ।

उनले जेन–जीहरुले निर्वाचन मागिरहेको पनि बताईन् । चुनाव लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै उनले जनताले चाहन्छन् भने यो अनिवार्य रहेको बताईन् । उपसभामुख रानाले भनिन्, ‘अदालतमा विचाराधीन रहेको कुराको पक्ष, विपक्षमा म छैन । पहिलाको इतिहास हेर्ने हो भने संसद् विघटन पनि भएको छ, पुनर्स्थापना पनि भएको छ । म अदालतलाई मान्छु ।’