रास्वपाबाटै चुनाव लड्ने उपसभामुख रानाको चाहना, रविलाई भेट्न जेलमा भने नजाने


काठमाडौं, २२ मंसिर । विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले पदमुक्त भएपछि आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै फर्किने बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाले नै आफूलाई उपसभामुखसम्म बनाएको र पदमुक्त भएपछि सोही पार्टीमा फर्किएर राजनीति गर्ने बताएकी हुन् । उनले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचन लड्ने पनि उनले बताईन् । उनले रास्वपाबाट चुनाव लड्नका लागि प्राइमरी इलेक्सन पनि फेस गर्नुपर्ने बताउँदै उनले पार्टीले जहाँबाट उठाए पनि आफू तयार रहेको बताईन् ।

आफू रास्वपाका सभापति रवि लामिछानेलाई भेट्न एक पटक पनि जेलमा नगएको पनि उनले बताईन् । आफू अहिले न्युट्रल पदमा रहेको बताउँदै उनले अब पदमुक्त भएपछि मात्रै सभापति लामिछानेलाई भेट्न जाने बताईन् । ‘तपाई रास्वपाका सभापति रविजीलाई भेट्न जेलमा जानुभयो ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘छैन, म गएको छैन । छुट्टी भइसकेपछि जान्छु नि । अहिले भनेको मेरो न्युट्रल पद हो । मलाई जुन जिम्मेवारी दिइएको छ, त्यही निभाइरहेको छु मैले । सभापतिकै निर्देशन तपाई न्युट्रल भएर बस्नुस् भन्ने छ ।’

साथै, सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई थुनामा राख्नु गलत रहेको उनको भनाइ छ । सहकारी ठगीमा लामिछानेको संलग्नता नै नदेखिएको बताउँदै उनले विगो बराबरको धरौटी राखेर थुनामुक्त हुन पाउँ भन्दा पनि नदिनु अन्याय भएको बताईन् । ‘कम्पनी ऐनमा धरौटी तिर्छु भन्दा पनि थुनिराख्नु गलत हो । अहिलेको हकमा थुनिरहनु गलत हो,’– उनले भनिन् ।

अहिले देशमा पार्टी च्याउसरी भएको बताउँदै उनले नयाँ दलहरु मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याईन् ।