देउवा, कोइरालालगायत सबै नेता संसद् पुनर्स्थापनाको पक्षमा हुनुहुन्छः श्याम घिमिरे (भिडिओसहित)


काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइरालालगायत सबै प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद् पुनर्स्थापनको रिट सर्वोच्च अदालतमा लानुभन्दा पहिला देउवालगायतका नेताहरुसँग छलफल भएको बताएका हुन् ।

‘शेरबहादुर देउवाले यसो गर भनेर निर्देशन दिएको पनि होइन । तर, हामीले एकपटक कुरा नेताहरुसँग गरेको हो । शेरबहादुर देउवा, शेखर कोइराला, गगनजीसँग पनि सबैसँग कुरा भएको हो । कसैले पनि नकरात्मक कुरा गर्नु भएको छैन,’– उनले भने ।

उनले संसद् पुनर्स्थापनाको पक्षमा अहिले आफूहरु ८÷९ जनाले रिट निवेदन दर्ता गराएको पनि उनले बताए । त्यसपछि पुरक निवेदनहरु थपिँदै जाने पनि उनले बताए । विगतका पनि संसद् विघटन हुँदा कांग्रेस अदालत गएको स्मरण गर्दै उनले आफूहरुले न्यायिक निरुपण चाहेको बताए । अदालतले यस्तो प्रकारको मुद्दालाई तुरुन्तै किनारा लगाउनुपर्ने उनको धारणा रहेको छ ।

कांग्रेस केन्द्रीय समिति बैठकले पनि वर्तमान सरकार गठन र संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको निष्कर्ष निकालेको उनले बताए । असंवैधानिक र अलोकतान्त्रिक छ भनेपछि त्यसलाई संवैधानिक बनाउनका लागि आफूहरु अदालत जानुपरेको उनले बताए ।

‘कांग्रेसको केन्द्रीय समितिको निर्णय के हो भने– यो सरकारको गठन र संसद्को विघटन असंवैधानिक छ, अलोकतान्त्रिक छ । दोस्रो कुरा यसको न्यायिक निरुपण सम्मानित अदालतले गर्ने छ । तेस्रो कुरा हामी निर्वाचनमा भाग लिन्छौं भन्ने निर्णय भएको छ । यो असंवैधानिक र अलोकतान्त्रिक छ भनिसकेपछि यसलाई संवैधानिक बनाउने बाटो के हो त भन्दाखेरी त्यो अदालतले गरोस् भनेर हामीले निर्णय गर्यौं । अदालत आफैंले त केही पनि बोल्दैन । त्यसले गर्दाखेरी हामीले न्याय निरुपण खोज्न अदालत जानुपर्यो । अदालतले भोलि निर्वाचन भन्यो भने हामी निर्वाचनमा नजाने कुरा छैन । निर्वाचनमा पनि जान्छौं,’– उनले भने ।